किरा परेको माछा खुलेआम बिक्रीमा


रामचन्द्र वि.क.,रामेछाप।रामेछापको मुख्य बजार भनेर चिनिने मन्थली बजारको एक मासु पसलमा किरा परेको माछा भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले आइतबार देवकोटा चोकमा रहेको भिमेश्वर कोल्ड स्टोरमा विक्री गर्न राखिएको ३० केजी किरा परेको माछा फेला पारेको हो ।

त्यस्तै अनुगमन टोलीले विविएस हार्डवेयर पसलबाट म्याद नाघेको इनामेल एक सय लिटर, क्यास्टोल मविल ५ बट्टा, आइडी किराना पसलबाट अनुमति विना बिक्रीको लागि राखिएको २८ प्याकेट गुड्खा, २ बट्टा सूर्य चुरोट, ४ बट्टा पाइलट चुरोट, एक प्याकेट सडेको मिठाई समेत बरामत गरेको छ ।

त्यस्तै श्रेष्ठ भोजनालय एण्ड लजबाट अनुमति नलिई बिक्रीको लागि राखिएको सूर्य चुरोट २ बट्टा र पाइलट चुरोट ४ बट्टा बरामत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।

यस अघि पनि पटक–पटक सडेको मासु तथा म्याद गुज्रेका सामाग्री ठूलो परिणामा बरामत गरेर कारबाही गर्दा समेत व्यवसयिहरुले उपभोक्ताको स्वास्थ्यलाई ख्याल नगरी व्यवसाय संचालन गरेकाले बजार अनुगमन सँगै त्यसको अध्ययन पनि भइरहेकाले उनिहरुलाई कानून अनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले बताउनुभयो ।

प्रजिअ केसी पाण्डेले उपभोक्ताहरुलाई पनि सामाग्री खरिद गर्दा प्रयोग गर्न मिल्ने नमिल्ने हेरेर मात्र खरिद गर्न आग्रह गर्नुभयो ।बजार अनुगमनका क्रममा एक पटक गल्ती गर्ने पसलको नाम सार्वजिन गर्ने, जरिवाना गरिने र त्यस पछि पनि गल्ती गरेको भेटिएमा कानून अनुसार कडा कारबाही गरिने प्रजिअ केसी पाण्डेले चेतावनी दिनुभयो ।