इतिहासको अध्ययनका लागि लिपि अनिवार्य ः सत्यमोहन जोशी


नेपाल समाचारपत्र, ललितपुर।वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले लिपिको अध्ययन बिना नेपालको कला, संस्कृति र इतिहास अध्ययन अपुरो रहने बताउनुभएको छ।

ललितपुर महानगरपालिका– १६ स्थित खाःछेँमा खोलिएको प्रशिक्षण केन्द्र (नेवाः स्यनाकुथि व छय्लाबुला ज्यास) को उद्घाटन गर्नुहुँदै उहाँले सो विचार व्यक्त गर्नुभयो।

वरिष्ठ संस्कृतिविद् जोशीले लिपि भनेको मानव समाजको विकास क्रममा अविष्कार भएको सिर्जनशीलता रहेको उल्लेख गर्दै त्यसको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिनुभयो।

नेपाल संयुक्त राष्ट्रको सदस्य बन्न मुलुकको आधिकारिक लिपिको रूपमा प्रचलित नेपाल लिपि दर्ता गराएको उल्लेख गर्दै जोशीले यसको संरक्षणलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने खाँचो औल्याउनुभयो।

सो अवसरमा प्रदेश– ३ की सांसद् शोभा शाक्यले भाषा, कला संस्कृति र लिपिको जर्गेना गर्न प्रदेश सरकारबाट विनियोजित बजेट सदुपयोग गर्नुपर्ने बताउनुभयो।

समारोहमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले वडाले लिपि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने बताउनुभयो।

रञ्जना, ब्राम्हीलगायत लिपिको प्रशिक्षण र त्यस सम्बन्धी व्यावसायिक सेवा प्रवाह गर्न सो कार्यालय खोलिएको कार्यालयका प्रमुख रुविन शाक्यले जानकारी दिनुभयो।

कार्यालयको स्थापनाले लिपि अध्ययनको महत्व र यसको प्रयोगलाई बढावा दिने पनि प्रमुख शाक्यको धारणा रहेको छ।