असल चालकलाई प्रहरी महानिरीक्षकको साथ


नेपाल समाचारपत्र, काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशभर यात्रा गर्ने यात्रुलाई सुरक्षितरूपमा गन्तव्यमा पुर्याउनु नेपाल प्रहरीको अन्तस्करणको चाहना रहेको बताउनुभएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथद्वारा आइतबार गोगंबुस्थित नयाँ बसपार्कमा ‘सडक सभ्यता हाम्रो चाहना सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रमको ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक अडियो बजाई शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो।

साथै सोही अवसरमा प्रहरी महानिरीक्षक खनालले करिब ३५ वर्षदेखि सवारी चालकको रूपमा काम गरी हालसम्म सुरक्षित यात्रा गराउने देशभरका असल चालकका प्रतिनिधि ७ जनालाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुको साथै चाडपर्वको अवसरमा यात्रा गर्ने यात्रु सवार विभिन्न सवारी साधनका चालकलाई फूलमाला लगाई सुरक्षित यात्राको शुभकामनासहित विदाइसमेत गर्नुभयो।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि प्रहरी निरन्तररूपमा खटिएको उल्लेख गर्दै ट्राफिक प्रहरी पोस्ट स्थापना, विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी समुदाय ‘प्रहरी साझेदारी’अन्तर्गत जनचेतनामूलक कार्यक्रम गर्नेलगायतका कार्य गरिरहेको बताउनुभयो।

यात्राको समयमा सवारी चालकको सबैभन्दा ठूलो जिम्मेवारी हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो– ‘सवारी साधनमा यात्रा गर्ने यात्रुहरूका लागि चालक नै भगवान् हुन, तपाईंहरूकै हातमा सबै यात्रुको जीवन छ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राई र ल्होत्से बहुउद्देश्य प्रालिका अध्यक्ष दिपक कुँवरले यातायात क्षेत्रमा आवश्यक सुधार गर्नका लागि आ–आफ्नो सहयोगसहितको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

साथै राष्ट्रिय दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, प्रसिद्ध गायिका पूर्णकला बिसी, राधिका हमाललगायतले सुरक्षित यात्राका सन्देश बोकेका जनचेतनामूलक गीत प्रस्तुत गर्नुभएको थियो। ट्राफिक नियमको पालना, सुरक्षित सवारी लगायतका विविध उद्देश्यसहित उक्त कार्यक्रम आज देशभरका विभिन्न स्थानमा समेत आयोजना गरिएको सो अवसरमा जानकारी दिइयो।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक, स्थानीय तहका प्रतिनिधि, प्रहरी अधिकृत, यातायात व्यवसायसँग सम्बद्ध तथा अन्य संघसंस्थाका प्रतिनिधि, कलाकार, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नागरिक समाज, ट्राफिक स्वयंसेवक र संचारकर्मीलगायतको उपस्थिति रहेको थियो।