यौन शोषणमा परेका पाँचसय जनाको उद्धार


नाइजेरिया । नाइजेरियाको एक भवनबाट चरम ज्यादती र यौन शोषणमा परेका पाँचसय जना युवा र बालकहरुलाई प्रहरीले उद्धार गरेको छ ।

उनीहरु केही वर्षदेखि नै यस्तो मारमा परेको जनाइएको छ । मदर्सामा कुरान पढ्नको लागि आफन्तद्वारानै आफना छोराहरुलाई त्यहाँ भर्ना गरिएकोमा त्यस्तो ज्यादती भएको पाइएको हो । उद्धार गरिएका बालकले आफूमाथि वर्षौदेखि ज्यादती भइरहेको बताएका छन् । त्यस्तो काम शिक्षकहरुले नै गरेको बताइएको छ । प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

नाइजेरियाको कुदुना सहरमा रहेको एक घरमा यस्तो गतिविधि भएको हो । भवनको बाहिर भने मदर्साको बोर्ड लगाइएको छ । प्रहरीले केही शंकास्पद गतिविधिभित्र भइरहेको थाहा पाएर छापा मारिएको जनाएको छ । छुटेका बच्चामा ५ वर्ष उमेर समूहका पनि रहेका छन् । बच्चाहरुको शरीरमा चोट थियो भने कतिपय भोकै थिए । कैयौं वर्षदेखि उनीहरु बन्धक रहेको जनाइएको छ ।

कतिपय त्यहाँ शिक्षाका लागि बुर्किनाफासोदेखि आएको पाइएकोे छ । धेरैजसो भने नाइजेरियाका नै हुन् । उनीहरु मध्ये केही फलामको साङ्गलोले हात खुट्टामा बाँधेको अवस्थामा समेत फेला परेका थिए । बीबीसी