ढुक्क भएर चाड मनाउन वाइबाको आग्रह


ललितपुर, (नेस)।महानगरीय प्रहरी प्रभाग बुङ्मतिका प्रमुख प्रहरी निरीक्षक शान्ता वाइबाले ढुक्क भएर चाडबाड मनाउन स्थानीयलाई आग्रह गर्नुभएको छ।

दशै–तिहारलगायत चाडवाड लक्षित सुरक्षा योजनाबारे जानकारी गराउन शनिबार प्रभागमा आयोजित अन्तक्रिया कार्यक्रममा उहाँले भंैसेपाटी, खोकना, बुङ्मतीलगायत आफ्नो क्षेत्रमा सुरक्षाको कुनै कमी हुन नदिने स्पष्ट पार्नुभयो।

चाडवाड लक्षित सुरक्षा अवस्थाका बारेमा भैंसेपाटी, बुङ्मती र खोकना क्षेत्रका स्थानीय बैंक, वित्तीय संस्था , होटल, रेस्टुरेन्ट, नागरिक समाज, क्लबलगायत सरोकारवाला निकायसँग छलफल गर्न आयोजना गरेको कार्यक्रममा उहाँले सो क्षेत्रमा कुनैपनि घटना भए तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ।

कार्यक्रममा उहाँले भन्नुभयो– ‘हामीलाई खबर गर्नुहोस, हामी तत्काल घटना स्थलमा पुग्नेछौं।’ ‘तपार्इंहरू ढुक्क भएर चाडवाड मनाउनुहोस् हामी आफ्नो क्षेत्रको सुरक्षा गर्नेछांै,’ सरोकारवालाले धारणा राखे लगत्तै बोल्ने क्रममा उहाँले भन्नुभयो– ‘चाडवाडमा घर छाडेर बाहिर जाँदा तत्काल नजिकैको छिमेकी र प्रहरीलाई जानकारी दिनुहोस।

उहाका अनुसार बुङ्मति प्रभागअन्तर्गत इजिप्ट, कतार र म्यानमारका तीन राजदूतावास र इजिप्ट, कतार, स्वीजरल्याण्ड र साउदी अरबका गरी चार राजदूतको निवास रहेका छन्। करिब दुई दर्जन बैंक र वित्तीय संस्था रहेको सो क्षेत्रमा मुख्य सुरक्षा चुनौती दिउँसोको समयमा चोरी हुने समस्या रहेको छ।

प्रहरी निरीक्षक वाइबाले कुनैपनि स्थानमा अपरिचित व्यक्तिको आवत–जावत भए तत्काल खबर गर्न आग्रह गर्नुभयो।अन्तक्र्रिया कार्यक्रममा बोल्दै बालकुमारी श्रृजना क्लबका महासचिव किशोर कुवँरले हालै बुङ्मती प्रभागमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षक वाइबालाई स्वागत गर्दै प्रहरीसँग सहकार्य गरी अघि बढ्न आफू तयार रहेको बताउनुभयो।

उहाँले ललितपुरको सिमाना चोभार, खोकना र बङ्मतिबाट अपराधिक क्रियाकलाप गरी भाग्न सक्ने क्षेत्रमा बढी सुरक्षा अपनाउनुपर्ने बताउनुभयो।

सिटिजन बंैकका भंैसेपाटी शाखा प्रमुख अमितकुमार बस्नेतले चाडवाडको समयमा बैंक र वित्तीय संस्थाको सुरक्षामा बढी ध्यान दिनुपर्ने बताउनुभयो।

प्रभाग प्रमुख प्रहरी निरीक्षक वाइबाले प्रभागमा कार्यरत कुनैपनि प्रहरी कर्मचारी चाडवाडमा विदा नबसी सुरक्षामा खटिने जानकारी गराउनुभयो।

उहाँले भन्नुभयो– ‘हामीकहाँ ३९ जना सुरक्षाकर्मी कार्यरत छन् ,कोही पनि विदामा बस्दैनौ सबैले तपाईंहरूको सुरक्षा दिनेछांै।’