सातै प्रदेशमा खिचियो केही आधा


आगामी कात्तिक २२ गते अल नेपाल रिलिमा आउने फिल्म सरौतोको दोस्रो गीत सार्वजनिक गरिएको छ। पहिलो गीत कुले दाइले चर्चा पाउँदै गर्दा निर्माण पक्षले फिल्मको टिजरपछि दोस्रो गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीत केही आधामा सुमी मोक्तान र सन्नी सिंहलाई फिचरिङ गरिएको छ। अघिल्लो गीत कुले दाइमा पनि सुमी र सन्नी देखिएका थिए भने टिजरमा सुमीको एक्सन प्रस्तुत गरिएको थियो।

शनिबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गीतमा पुष्पन प्रधानको शब्द, संगीत र स्वर रहेको छ। गीत रिकेश गुरुङले एरेन्ज गरेका छन् भने यसमा कोरियोग्राफी र छायांकन निर्देशक हरि हुमागाईंको रहेको छ।

म्युजिक भिडियो र विज्ञापन फिल्ममा चिनिएको नाम हरि यसै फिल्ममार्फत निर्देशनमा समेत डेब्यु गर्दै छन्। गीतलाई उनले फिल्मकै कथाअनुसार तयार गरेका छन्।

गीतलाई १४ दिन लगाएर नेपालको हरेक प्रदेशमा छायांकन गरिएको छ। गीत बन्दीपुर, पोखरा, धम्पुस, मुस्ताङ, लुम्बिनी, सौराहा र जनकपुरमा छायांकन गरिएको हो। गीतले नेपाल सरकारको अभियान भिजिट–२०२० लाई सहयोग गर्ने विश्वास फिल्म युनिटको रहेको छ।

फिल्ममा सुमी र सन्नीसँगै लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरूणा कार्की, सुवाङम शाह, मनिषा पुन मगर, प्रतीक दुलाल, राजेश रोय, मनोज तामाङलगायतले अभिनय गरेका छन्।
सिनेम्याटोग्राफीमा बलियो नाम हरि हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा बदलाको कथा छ।

विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन र राइजिङ फिल्म्स एन्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघवकृष्ण गौतमको लेखन, राजनराज शिवाकोटी, पुष्पन प्रधान र कमल खत्रीको संगीत, राजनराज, पुष्पन र कमलसँगै मिलन अमात्य र श्रेया सोताङको स्वर, शंकर महर्जनको एक्सन, उत्तम हुमागाईंको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।