तयार भयो आधुनिक बसपार्क


बाँके, (नेस)। नेपालगञ्जमा आधुनिक बसपार्क तयार भएको छ। बसपार्क बनेसँगै आइतबारदेखि बसहरू बसपार्कबाटै सञ्चालन गरिएको छ। पटक–पटक मिति सर्दै बसपार्क तयार भएको हो।

मिति सरिरहँदा निर्माण लागत पनि बढेको छ। १४ करोड ९४ लाखमा सम्झौता भएको बसपार्क साढे १६ करोडमा सम्पन्न भएको छ। बसपार्कको उद्घाटन भने १८ गते मुख्यमन्त्रीबाट गराउने कार्यक्रम बनाइएको छ।

नेपालगन्ज उपमहानगरपालिकाले बस समितिहरुसँग समन्वय गरेर आइतबारदेखि सबै बसहरू बसपार्कबाट छुट्ने र बसपार्कमा यात्रु झार्ने व्यवस्था मिलाएको छ। नेपालगन्जका मेयर डा. धवलशमशेर राणाले ठेकेदार र स्टेमिटमा भएको कमजोरीले गर्दा बसपार्क निर्माणमा ढिलाई भएको बताउनुभयो। ‘अब त बसपार्क बन्यो।

यसलाई सफा, सुुग्धर र सुरक्षित गर्ने काम यहाँकै हो, मेयर राणाले बस समितिका पदाधिकारी, चालक र प्रहरी उपस्थित कार्यक्रममा भन्नुभयो, उपमहानगरपालिकाले सधैं बसपार्क सञ्चालन गर्न सक्दैन।’

बाँके प्रहरीले दशैंलक्षित गरेर बसपार्कमा राखेको यात्रु सहायता कक्षको उद्घाटन गर्न मेयर राणा, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी वीरबहादुर वली, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य पुगेका थिए।

त्यसक्रममा बसपार्कबाट छुटेको पहिलो गाडीका चालकलाई मेयर राणा, प्रमुख जिल्ला अधिकारी खड्काले माला लगाएर विदाई गरेका थिए।

चाडवाडमा यात्रुको चाप बढ्ने, बसका कर्मचारीले तानातान गर्ने समस्या बढी आउने गर्दछ। प्रमुख जिल्ला अधिकारी खड्काले आधुनिक बसपार्क बनेको र नियम संगतरूपमा बसहरू छुट्ने र झार्ने काम हुने भएकाले अबका दिनमा यात्रुलाई तानातान नहुनेमा विश्वास व्यक्त गर्नुभयो।

अढाई वर्षदेखि बसपार्क बनिरहदा नेपालगन्जदेखि पूर्व तथा पश्चिम जाने बसहरू पुष्पलालचोकलगायतका ठाउँमा बसेर यात्रुलाई तानातान गर्ने गर्दथे।

अबका दिनमा पूर्व–पश्चिम जहाँबाट आएका बस पनि बसपार्कमै पुग्नु पर्ने र त्यहीबाट बाहिरिनु पर्ने नियम बनाइएको छ। यसले गर्दा चोकहरुमा ट्राफिक समस्या हटेर जानेछ।