सडक र टेलिकम विरुद्ध नागरिक खबरदारी


दोलखा, (नेस)।लामोसाँगु–जिरी सडक सतरोन्नती हुन नसक्दा यात्रुहरुले सास्ती भोग्नु परेको र केही दिनदेखि ल्यान्डलाइन तथा मोबाइन फोनमा समस्या भए पनि मर्मतमा चासो नदेखाएको भन्दै दोलखाका नागरिक अगुवाले सडक डिभिजन कार्यालय र नेपाल टेलिकमको चरिकोट शाखामा तालाबन्दी गरिदिएको छ।

सिठी जुलुससहित सडक डिभिजन कार्यालय र नेपाल टेलिकमको कार्यालय पुगेका नागरिक अगुवाले कार्यालयका कर्मचारीलाई बाहिर निकालेर कार्यालयमा ताला लगाएका थिए।

तालाबन्दीपछि सातदोबाटो चोकमा खबरदारी सभाको आयोजना गरी २४ घण्टाभित्र सुधारको काम शुरू नगरे थप आन्दोलन गर्ने दोलखाका नागरिक अगुवाले बताएका छन्।

खबरदारी सभामा नागरिक अगुवा चिरञ्जीवी मास्के, दीपशङ्क चौलागाईं, रमेश खतिवडा, गणेशबिक्रम शाही र दोलखा उद्योग वाणिज्य संघका सचिव विमल श्रेष्ठले मन्तव्य व्यक्त गर्नुहुँदै तत्काल सुधारको काम शुरू गर्न सरोकारवाला पक्षलाई आग्रह गर्नुभएको छ। दुई कार्यालयमा गरिएको तालाबन्दी भने स्थानीय प्रशासनले केही समयपछि नै तोडेको थियो।