कांग्रेस प्रचण्डको भरिया : अध्यक्ष थापा


पुष्कर बुढाथोकी, भक्तपुर।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेसले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डको एजेन्डा बोकेर हिँडेको आरोप लगाउनुभएको छ।

राप्रपा भक्तपुर जिल्ला समितिले शनिबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उहाँले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको एजेन्डा छाडेर कांग्रेसले प्रचण्डको एजेन्डा बोकेर हिँडेको आरोप लगाउनुभएको हो।

कम्युनिस्टको एजेन्डा बोक्दा कांग्रेसले हारेको उल्लेख गर्दै थापाले नेपाली कांग्रेस ‘प्रचण्ड’ पथको भरिया भएको र प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले आफ्नो सिद्धान्तलाई तिलाञ्जली दिँदै प्रचण्डको भरिया भएकाले कांग्रेस र वर्तमान सरकारबीच कुनै भिन्नता नरहेको बताउनुभयो।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता नेपालको एजेन्डा नभई विदेशको एजेन्डा भएको र यसलाई प्रचण्डले भरियाका रूपमा नेपाल भित्रयाएको र यसलाई नै कांग्रेसले आत्मसाथ गर्दै पछि–पछि लागेको उहाँले बताउनुभयो।

उहाँले परिवर्तनका नाममा हिन्दू राष्ट्रको पहिचान समाप्त परियो, राजसंस्थालाई पाखा लगाइयो, एकात्मक देशलाई संघीयतामा लादियो, राष्ट्रघाती कदम चाल्दै नागरिकता विदेशीलाई दिने वातावरण तयार पारियो र देशलाई अस्थिरता निम्त्याउने काम वर्तमान सरकारले गरेको आरोप लगाउनुभयो।

अहिले योजनाबद्धरूपमा प्राचीन र मौलिक धर्ममाथि आक्रमण भरहेको भन्दै उहाँले नेपालको धर्म र संस्कृति त्यागेर विदेशी विदेशी धर्म स्थापना गर्ने दुस्प्रयास भरहेकोमा चिन्ता व्यक्त गर्नुभयो। ठूला दलका केही वरिष्ट नेताहरू नै विदेशीको प्रभावमा पर्दा नेपालको धर्म, संस्कृतिमा संकट आएको भनाइ राख्नुभयो।

नेपालको धर्म संस्कृतिमा भरहेको अतिक्रमणलाई रोक्न नसके यहाँको पहिचान र अस्तित्व गुम्ने भनाइ राख्नुभयो। राप्रपा अध्यक्ष थापाले विश्वमा तीव्ररूपमा इसाईकरण हुने पहिलो देश नेपाल भएको एक तथ्यांकले देखाएको बताउँदै नेपालको धर्ममाथि इसाईको बढ्दो अतिक्रमण रोक्नु पर्नेमा जोड दिनुभयो।

राप्रपाले हिन्दू राष्ट्रका लागि आन्दोलन र अभियान सञ्चालन गरेको बताउँदै उहाँले यो अभियान कुनै पार्टी वा धर्म विरुद्ध नभई हिन्दू धर्ममाथि बढ्दो बाह्य आक्रमण रोक्न चालेको बताउनुभयो।

धर्म र संस्कृति संकटमा परेका बेला सबै एकजुट भएर संरक्षण गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो।आफ्नो देशको धर्म, संस्कृति, पहिचान र अस्तित्व संकटमा पर्दा पनि जनता चुप लागेर बस्न हुँदैन भन्नुभयो।

राष्ट्रघाती नागरिकता ऐनको नाममा हजारौं विदेशीलाई नागरिकता बाँडिएको आरोप लगाउँदै उहाँले प्रचण्डका गलत एजेन्डाका कारण देश संकटमा पर्दै गएको भनाइ राख्नुभयो।

‘दलहरूले संघीय लोकतान्त्रिक गणत्रन्त्रको नाममा राष्ट्रियतको जग नै भत्काएको आरोप लगाउँदै यदि जगमा धमिरा लागेको थियो भने उपचार वा पुननिर्माण गर्नुपथ्र्यौ तर भत्काउने नै काम भयो’ –उहाँले भन्नुभयो।

राप्रपा अध्यक्ष थापाले अहिले नेकपामा मात्रै होन कांग्रेसमा पनि सैद्धान्तिक विचलन आएको बताउनुभयो। उहाँले नेकपा र कांग्रेसले जनतालाई रैती ठानेको आरोप लगाउँदै स्वाभिमानी नेपाली नागरिक कुनै पार्टीको दाश भएर बस्न नहुने भनाइ राख्नुभयो।