सीमानाकामा पहिलोपटक सशस्त्र प्रहरीको हेल्प डेस्क


विनोद सिंह विष्ट, बैतडी। नेपाल भारत सीमानाका बैतडीको झुलाघाटमा सशस्त्र प्रहरी बलले पहिलो पटक हेल्प डेस्क स्थापना गरेको छ। दशैं तिहारलाई मध्यनजर गर्दै बैतडीमा रहेका सशस्त्र प्रहरी बल नं ५१ गुल्मले सीमानाकामा हेल्प डेस्क स्थापना गरेको हो।

दशंै, तिहारमा भारतीय शहरमा काम गरेर नेपाल फर्कने र नेपालबाट भारत तर्फ जाने यात्रुको सहजताका लागि सीमामा हेल्पडेक्सको स्थापना गरिएको बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिनुभयो।

चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले देशभरी नै सीमा क्षेत्रमा हेल्पडेस्क स्थापना गर्ने गरेको उहाँले बताउनुभयो। सीमा नाकामा ठगिएको, लुटिएको भन्ने सूचना आइरहेको बेला हेल्प डेस्कले मद्दत गर्नेभएको छ।

सीमामा सशस्त्र प्रहरीको हेल्प डेस्क स्थापनाले दशैं तिहार मनाउन आउने नेपालीलाई सहजता हुने झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लबदेव जोशीले बताउनुभयो।

चाडपर्वका बेला सीमानाकावाट बढी जसो तस्करीका घटना हुने भएकोले ती घटना न्यूनीकरण गर्न हेल्प डेस्कले सहयोग पुग्ने विश्वास गरिएको छ।