बढी भाडा लिने १ सय ४७ सवारीमाथि कारबाही


ईश्वरराज ढकाल, काठमाडौं।ट्राफिक प्रहरीले चाडबाडको समयमा राजधानीबाट बाहिरिने यात्रुसँग बढी भाडा लिने १ सय ४७ सवारीसाधनलाई कारबाही गरेको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको एक सातामा सो कारबाही गरेको हो।बसपार्कमा सादा पोशाकमा खटिएका प्रहरीले विभिन्न नाकामा आकस्मिक जाँच गर्दा बढी भाडा लिएको जानकारी पाएपछि ती सवारीसाधनलाई कारबाही गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले चाडवाडमा यात्रुसँग बढी भाडा लिने र ओभरलोड गरी सवारी चलाउनेमाथि विशेष योजनाअनुसार कारबाही गरिएको जानकारी दिँदै भन्नुभयो– ‘सबै प्रकारका ट्राफिक नियम उल्लंघन गर्नेमाथि कारबाही गरिरहेका छौं, तीमध्ये बढी भाडा लिने, हुटमा यात्रु राख्ने र ओभरलोड गर्नेमाथि निगरानी बढाएका छौं।’

 

महाशाखाले अग्रिम टिकट बुकिङ नपाएको, टिकटमा भएको गाडी नम्बर र चढ्ने गाडी नम्बर फरक परेको, टिकट नम्बर उल्लेख नभएको, बढी भाडा लिइएको आदि विषयमा अनुमगन बढाइएको जनाएको छ।

हिजो आइतबारसम्मको तथ्यांकअनुसार अन्य भाग र छतमा यात्रु मालसामान राख्ने ३६, मापसे गरी चलाउने ६ सय ८० र बिग्रिएका साधन तानेर गन्तव्यमा पुर्याउने ६८ वटा गरी उपत्यकामा ९ हजार ८ सय ९५ र लामो रुटमा सञ्चालन हुने यात्रुबाहक बसमा दुई जना चालक नराख्ने ९ वटा सवारी कारबाहीमा परेका छन्।

ती सवारीलाई ट्राफिक कम्युनिकेसन एप्समार्फत कारबाही गरिएको महाशाखाको भनाइ छ।एसएसपी ढकालले बस पार्कका अलावा विभिन्न नाकामा छड्के जाँच गरी यात्रुसंग बढी भाडा लिएको जानकारी पाएपछि पनि कारबाही गरिएको दाबी गर्नुभयो।

खासगरी टाटा सुमो र माइक्रोबसले बढी भाडा लिएको सूचना पाएपछि ट्राफिक प्रहरीले ती साधन चल्ने पार्कमा सादा पोशाकका प्रहरी खटाएको थियो। प्रमुख ढकालका अनुसार विशेषगरी कलंकी, कोटेश्वर, पेप्सीकोला, बल्खु जस्ता स्थानमा प्रहरीले विशेष अनुगमन गरिरहेको छ।