पुष्पलालचोक–गछिया २३ किलोमिटर सडक कालोपत्रे हुने


सरोज यादव, मोरङ।मोरङको बुढीगंगा गाँउपालिकास्थित पुष्पलालचोक–गछिया सडक कालोपत्रे हुने भएको छ।
सो सडकको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आइतबार शिलान्यास गर्नुभएको छ।

बुढीगंगा गाँउपालिकाको कोइलपुरमा आइतबार आयोजित कार्यक्रमका बीच उहाँले सो सडकको शिलान्यास गर्नुभएको हो। २३ किलोमिटर ७ सय मिटर लम्बाईको सो सडक दुई वर्षभित्र कालोपत्रे गरिसक्ने जनाइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश अर्यालले ५२ करोड २४ लाख ७३ हजार ७ सय २२ रुपियाँ ८४ पैसामा निर्माण सम्पन्न हुने सो सडकको काठमाडांै स्थित श्रीलुम्बिनी–मृत संजीवनी जेभीले ठेक्का पाएको बताउनुभयो।

दुवैतर्फ १/१ मिटरको सोल्डर राखेर साढे ७ मिटर चौडाईको रहने सो सडकको साढे ५ मिटर चौडाईमा कालोपत्रे गरिने उहाँले जानकारी दिनुभयो। सडकको सब बेसको मोटाई २० र बेस १५ सेन्टिमिटरको रहने जनाइएको छ।

यसैगरी सो सडकमा पाइप कल्र्भट ४५ वटा र स्ल्याब कल्र्भट १० वटा निर्माण गर्नुपर्ने ठेक्का सम्झौता रहेको जनाइएको छ। लामो समयदेखि सडकको जर्ण अवस्थाले गर्दा यातायातमा समस्या भोगेका स्थानीय सडक कालोपत्रे हुने भएपछि खुसी भएका छन।

सडककै कारण आवात–जावतमा निकै समस्या भएको थियो स्थानीय विनोद राउतले भन्नुभयो अब निर्धारण गरिएको समयमा सडक कालेपत्रे गरिनुपर्छ।

सडक निर्माणका लागि शुभारम्भ हुने भएपनि वर्षौंसम्म अलपत्र छाडिदिने गरेको भन्दै स्थानीयले तोकिएको समयमा सडक बनाइसक्न सबैले खबरदारी गर्नुपर्ने बताउनुभयो।

शिलान्यास कार्यक्रममा बुढीगंगा गाँउपालिकाका प्रमुख बालचन्द माझीले सो सडक खण्डको १८ किलोमिटर सडक बुढी गंगा गाउँपालिकामै पर्ने भएकाले पालिकाभित्रका विभिन्न वडाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो।