संविधान संशोधन नभए आन्दोलन : राई


यमलाल भुसाल, बुटवल।समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र प्रचण्डसँग भएको लिखित सहमति कार्यान्वन नभएको बताउनुभयो।सरकारलाई समर्थन गरी सरकारमा सहभागिता हुँदा भएको लिखित सहमतिअनुसार संविधान संशोधन नभए आन्दोलनमा जाने उहाँले चेतावनी दिनुभयो।

आइतबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै संविधान संशोधन गरेर समाजवादी पार्टीले उठाएका माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेसमेत उहाँको कथन छ। उहाँले सर्तसहित सरकारलाई समर्थन गरिएको बताउँदै सर्त पूरा नभए सडकबाट आन्दोलन गर्ने दाबी गर्नुभयो।

पूर्व मन्त्रीसमेत रहनुभएका राईले भाषिक, धार्मिक, समानुपातिक, समावेशी, शासकीय स्वरुप, निर्वाचन प्रणालीप्रति संविधानमा त्रुटि भएकाले संविधान संशोधन गर्नुको विकल्प नभएको दाबी गर्नुभयो। सरकारका केही मन्त्रीहरूको अपरिपक्कताका कारण सरकार समस्यामा परेको उल्लेख गर्दै उहाँले सरकारको पक्षबाट भएका अराजकता नरोकिए लोकतान्त्रिक गणतन्त्रमाथि संकट आउन सक्ने बताउनुभयो।

भ्रष्टाचार र घुसखोरी वर्तमान सरकारका पालामा बढेको आरोप लगाउँदै उहाँले यसको न्यूनीकरण नभए जनता निरास भएर सडकमा उत्रिन सक्ने चेतावनी पनि दिनुभयो।

उहाँले सत्ताको आडमा कसैलाई निषेध गर्न नहुने बताउँदै विप्लव नेतृत्व नेकपालाई वार्ताको माध्यमबाट असन्तुष्टीलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो। विप्लव नेतृत्व नेकपालाई हिंसाको बाटो छोडेर वार्ताको माध्यमवाट समस्याको समाधान खोज्न आग्रह गर्नुभयो। रामकुमार क्षेत्रीको अध्यक्षतमा कार्यक्रम भएको थियो