देउवाको आक्रोश:जनताको दैलो नटेक्ने  आउँछ भोट !


नेपाल समाचारपत्र, काभ्रे।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूले एकले अर्कोलाई गुटगत राजनीति गरेको आरोप लगाउन छोडेका छैनन्।

प्रतिपक्षको भूमिकामा समेत कमजोर बनेको कांग्रेस केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित भई आन्तरिक द्वन्द्वमा फसेको छ।

केन्द्रका शीर्ष नेतादेखि गाउँका साधारण कार्यकर्तासम्मको एउटै भनाइ छ– ‘कांग्रेसले आन्तरिक गुट–उपगुट त्यागेर एकढिक्का नभएसम्म गुमेको साख फर्काउन सकिँदैन।’

नेतृत्वमा रहने नेताहरूकै कारण पार्टी कमजोर भएको भन्दै हरेक कार्यक्रममा आलोचना भइरहेका बेला आइतबार सभापति शेरबहादुर देउवाले आक्रोशित हुँदै भन्नुभयो– ‘आ–आफू झगडा गरेर बस्ने, जनताको घरदैलो कहिल्यै नजाने अनि कांग्रेसले कहाँ भोट आउँछ र चुनाव जित्छ ?’एक–आपसमा झगडा गर्न छोडेर अहिलेदेखि नै जनताको घरदैलो गएर कांग्रेसले आगामी निर्वाचन जित्ने सभापति देउवाको भनाइ थियो।

नेपाल शिक्षक संघ काभ्रेले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा शिक्षक सम्मान कार्यक्रममा सभापति देउवा जनता सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै जनताको सुख–दुःखमा साथ दिन कांग्रेसका आम नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले सभापति देउवाको समेत चेत खुलोस् भन्दै हामीले व्यक्तिगत स्वार्थका लागि मात्र काम गरिराखेका छौं कि देश र जनताका लागि पनि काम गरिरहेका छौं भन्दै उहाँले पार्टी सभापतिलाई पार्टीभित्र समानताको व्यवहार गर्न आग्रह गर्नुभएको थियो।

‘आफ्नो गल्ती छ भने सच्चाउने, साथीको दृष्टिदोष छ भने सम्झाए हुन्छ’ भन्दै नेता सिटौलाले सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टी जनाएपछि सभापति देउवा आक्रोशित हँुदै आन्तरिक झगडा गरेर बसिरहने हो भने कांग्रेस कमजोर मात्र होइन इतिहासमा खोज्नुपर्ने अवस्था आउने बताउनुभयो।

‘जनताको घर–घरमा जानुस्, एकपटक हैन दुईपटक हैन तीनपटक जानुस् पक्का भोट हाल्छन्’, सभापति देउवाले भन्नुभयो– ‘अब कांग्रेसको एउटै उद्देश्य भनेको आन्तरिक झगडा छोडेर जनताको सुख–दुःखमा साथ दिने हुनुपर्छ।’

जनताले साथ दिएपछि दुई तिहाईको सरकार होइन तीन तिहाईको सरकारले पनि घुँडा टेक्ने भन्दै देउवाले देशको सबैभन्दा ठूलो मालिक जनता भएकोले कांग्रेस जनताको घरदैलोमा जानुपर्ने बताउनुभएको थियो।नेपालका कम्युनिस्टहरू कहिले माक्र्सवाद, कहिले लेलिनवाद भन्दै विदेशी विचारधारबाट मात्र प्रभावित भएको भन्दै सभापति देउवाले अहिले सी जिनपिङ विचारधार भन्दै अघि बढेको बताउनुभयो।

कांग्रेस अब आफूसँगहोइन अरूसँग लड्ने पार्टी बनाउनु पर्छ भन्दै ‘वर्तमान सरकारले संविधानबाट शासन चलाउन खोजेको छैन, चीनको एकदलीय विचारधाराबाट सरकार चलाउन खोजेको छ’ नेता सिटौलाले भन्नुभयो– ‘अहिले संविधान रहने तर व्यवस्था चाहीँ संविधानअनुसार नचल्ने अवस्थामा पुगेको छ।कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इंले पार्टीभित्र एकले अर्कोलाई दोष देखाएरमात्र नहुने भन्दै आन्तरिकरूपमा सबै एकढिक्का हुनुपर्ने धारणा राख्नु भएको थियो।