सुनकोशी गाउँपालिकामा स्वास्थ्य बीमा कार्यक्रम लागू


लीला सुनुवार, ओखलढुंगा।ओखलढुंगाको सुनकोशी गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ। सुनकोशी गाउँपालिका प्रमुख रुद्धप्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी सुनकोशी गाँउपालिका–८ बाट स्वास्थ्य बीमा कार्यक्रम शरू गरिएको सुनकोशी गाउँपालिका–८ का अध्यक्ष गुणराज भट्टराईले बताउनुभयो।

कार्यक्रममा सम्बोधन गर्दै गाँउपालिका प्रमुख अधिकारीले विकट क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि यो कार्यक्रम निक्कै प्रभावकारी भएकोले सम्पूर्ण सुनकोशी गाउँपालिका वासीले अनिवार्यरूपमा स्वास्थ्य बीमा गर्नुपर्ने कुरामा जोड दिए।

स्वास्थ्य बीमा कायक्रमलाई प्रभावकारी बनाउन प्रत्येक वडामा स्वयंसेविका र स्वास्थ्य बीमा अभिकर्ता घरदैलो कार्यक्रममार्फत खटाइने गाउँपालिका प्रमुख अधिकारीले बताउनुभयो।

यसैगरी गाँउपालिकाको अन्य वडामा पनि क्रमश कार्यक्रमको आयोजना गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने योजना रहेको गाउँपालिका प्रमुख अधिकारीले बताउनुभयो।

सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले नागरीकले स्वास्थ्य बीमा गर्दा ५ जनासम्मको परिवार भएको प्रतिघर धुरीले रु ३ हजार ५ सय रुपियाँ बीमित रकम तिर्नुपर्ने र ५ जनाभन्दा माथिको परिवारको लागि प्रतिव्याक्ति ७ सय थप्नु पर्ने प्रावधान रहेको बताउनुभयो।

यसै गरी स्वास्थ्य बीमा कायक्रममा स्वास्थ्य स्वयंसेविकाका लागि ५० प्रतिशत छुट, ज्येष्ट नागरीकको हकमा प्रतिव्याक्ति शतप्रतिशत छुट र भिन्न क्षमता भएको नागरिकको हकमा शतप्रतिशत घरपरिवारलाई नै छुट हुने प्रावधान रहेको प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताउनुभयो।