कष्टमेटिक उद्योगमा आगलागीबाट ५ लाखको क्षति


न्युज अफ नेपाल, वीरगञ्ज ।
एक कष्टमेटिक उद्योगमा आगलागी भएको छ । वीरगञ्ज महानगरपालिका–९ रानीघाट कि लक्ष्मीदेवी तुराहाको घरमा छोरा उमाशंकर साह तुराहाले सञ्चालन गरेको
कलर्स कष्टमेटिक उद्योगमा आगलागी भएको हो । आगलागीबाट ५ लाख मुल्य बराबरको क्षति भएको दाबी उद्योगका सञ्चालकले गरेका छन् ।

घरको तल्लो तलामा नङ पालिस बनाउने उद्योग सञ्चालनमा थियो । अन्य तलामा परिवार बस्दै आएका थिए । उद्योगमा थिनर, रङ लगायत नङ पालिस बनाउने ज्वलनशील पदार्थ राखिएको थियो ।

अचानक आगलागी भएपछि तल झरेर हार गुहार गरेको उमाशंकरका दाई ईश्वर साह तुराहाले बताए । ‘हामी माथिल्लो तलामा थियौं, अचानक आगलागी भयो,’ के कसरी आगलागी भयो थाहै पाउन सकिएन ।’ उनले भने ।

प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्न बाँकी रहेको जानकारी दिएको छ ।

साँझ साढे ५ बजेतिर लागेको आगो सवा ६ बजेतिर नियन्त्रणमा आएको थियो । वीरगञ्ज महानगरपालिकाको दुईवटा दमकलको सहायतामा स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको संयुक्त प्रयासमा नियन्त्रणमा लिईएको थियो ।