विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनमा छलफल   


न्युज अफ नेपाल, काठमाडौँ ।
राष्ट्रिय मानव अधिकार आयोगले विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चक्रको प्रतिवेदन तयारी तथा दोस्रो चक्रको कार्यान्वयन प्रगति सम्बन्धमा प्रधानमन्त्री कार्यालयका सचिवसहितको टोलीसँग आयोगमा छलफल गरेको छ । छलफलमा आयोगका सदस्य सुदीप पाठकले विश्वव्यापी आवधिक समीक्षामा सरकारबाट प्रस्तुत गरिने राष्ट्रिय प्रतिवेदनले नागरिक तथा राजनीतिक अधिकारसँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलगायतका मानव अधिकारका महत्पूर्ण विषयलाई समेट्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डिल्लीराज घिमिरेले दोस्रो चक्रको सिफारिस कार्यान्वयन सम्बन्धमा हालसम्म प्राप्त भएका सूचना तथा तथ्यका बारेमा जानकारी गराउँदै सबै मन्त्रालयबाट सूचना तथा तथ्यहरू प्राप्त भैसकेपछि आयोगलाई पुनःजानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले विश्वव्यापी आवधिक समीक्षामा नेपाल सरकारबाट पेश गरिने प्रतिवेदनमा आयोगको सुझाव तथा सिफारिस महत्वपूर्ण हुने हुनाले आयोग र नेपाल सरकारबीच समन्वय र सहकार्य अपरिहार्य हुने बताउनुभयो ।

विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चरणको प्रतिवेदनको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगबाट भइरहेका कार्यका बारेमा आयोगका निर्देशक मुरारीप्रसाद खरेलले जानकारी गराउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य पाठकको संयोजकत्वमा भएको उक्त छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मानव अधिकार तथा अन्तरराष्ट्रिय सन्धि सम्झौता महाशाखाका सहसचिव कोशलचन्द्र सुवेदीलगातको उपस्थिति रहेको थियो ।
रासस