नेपाल सरकारले मानवसेवा आश्रमलाई एक करोड सहयोग गर्ने


न्युज अफ नेपाल, भक्तपुर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बेसहारा रहेकालाई उद्धार गरी आश्रय दिने संस्था मानवसेवा आश्रमलाई नेपाल सरकारका तर्फबाट रु एक करोड सहयोगको घोषणा गर्नुभएको छ ।

भक्तपुर कौशलटारस्थित सो संस्थाको नयाँ शाखाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको अक्षयकोष स्थापना र अन्यका कामका लागि हुने गरी सो रकम सहयोग गरिने जनाउनुभयो । निःस्वार्थ र समाजसेवी भावनाले सो संस्थमा आबद्धको अभियानबाट आफू प्रभावित भएकाले सरकार र स्थानीय तहले यस्तो अभियानमा सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले नेपाललाई चाँडै सडक बेसहारा र सडक बालबालिकामुक्त देश घोषणा गर्न सरकारी र मानवीय मन भएका सबैको पहल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकको समृद्धि केवल आर्थिक समृद्धि मात्र होइन, हामी मन र सभ्यताको समृद्धिको तहमा पनि पुग्नुपर्छ । केही नगरी केवल हल्ला र विरोध गरेर हिँड्नुको साटो यस्तै समाजसेवामा लाग्नु धेरै उचित हुनेछ ।” मकवानपुरमा मुख्यालय रहेको सो संस्थाले मुलुकका विभिन्न १४ स्थानमा यस्तै आश्रममा गरी करीब ८०० बेसहारालाई पालनपोषण गर्दै आएको छ ।
रासस