लेक लागेर पर्यटकको मृत्यु 


न्युज अफ नेपाल, गोरखा ।

चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको शनिबार मृत्यु भएको छ । हिमाल आरोहण गर्ने क्रममा पोल्याण्डकी ५० वर्षीया रिता डोनेटा ब्लाड्यको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

आरोहणका क्रममा ब्लाड्य तेस्रो शिविरसम्म पुगेकी थिइन् । ‘सेभेन समिट ट्रेक्स प्रालि’मार्फत् मनास्लु आरोहणका लागि त्यहाँ पुगेकी ब्लाड्य माथिल्लो शिविर उक्लदै गर्दा बिरामी परेकी हुन् । बोकेर तेस्रो शिविर ल्याइपुर्याउँदा उनको मृत्यु भएको शर्माले बताउनुभयो । मौसम खराब भएका कारण उनको शव ल्याउन समस्या भएको उहाँले बताउनुभयो । घटनास्थल उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीबाट तीन दिनको पैदल दूरीमा पर्छ ।
रासस