डा.रेणुका सोलुद्वारा लिखित उपन्यास ‘चिराक’को विमोचन


न्युज अफ नेपाल, कैलाली ।
साहित्यकार डा.रेणुका सोलुद्वारा लिखित उपन्यास ‘चिराक’को कैलालीमा विमोचन भएको छ । शनिवार कैलालीको जनपुस्तकालयको सभाकक्षमा सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापा लगायतले पुस्तकको विमोचन गर्नुभयो ।

नेपाली साहित्य तथा संस्कृती प्रतिष्ठान कैलालीको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि थापा, विशेष अतिथिमा धनगढी उपमहानगरपालिका उपमेयर सुशीला मिश्र भट्ट र डा.रेणुका सोलु रहनुभएको थियो ।

‘चिराक’का बारेमा प्रमुख वक्ताका रुपमा कैलाली बहुमुखी क्याम्पसका प्रा.डिल्लीराज फुलारा, सह प्रा गणेशराज जोशी हुनुहुन्थ्यो भने अन्य वक्ताका रुपमा सुशीला मिश्र भट्ट, मनिराज जोशी, श्रेष्ठ पृया पत्थर हुनुहुन्थ्यो ।

प्राय सबै वक्ताको भनाइमा चिराक एउटा उज्यालोको प्रतीक, सहअस्तित्वको खोजी रहेको सुदुरपश्चिमलाई ऐनाका रुपमा प्रस्तुत गरिएको लिखित दस्तावेज हो भन्ने थियो ।
डा. रेणुका एक निर्भिक, निडर अनि सत्यतथ्यका आधारमा अन्यायका विरुद्धमा र न्यायका पक्षमा लेख्ने लेखक रहेको बताउनुभएको थियो । वक्ताहरूले डा. रेणुलाई स्पष्ट वक्ता, सामाजिक अभियन्ता, विद्रोहको प्रतीकका रुपमा चित्रण गर्नुभएको थियो ।

त्यस्तै चिराकमा नारी जागरण,महिलाभित्रको चेतनाको राँको, अन्धकारलाई हटाउने दियालोको सन्देश पाइने कुरा सबै वक्ताहरूको भनाई थियो ।

‘चिराक’मा उपन्यासकारको समाज सुधारको दृष्टिकोण , राष्ट्रवादी दृष्टिकोण,राष्ट्रप्रेमको हृदयविदारक भावना पाइने कुरा वक्ताहरूको भनाइ थियो । नारी पनि मान्छे भएर स्वतन्त्र बाँच्न चाहन्छन्, अन्याय सहनु पनि पाप हो जस्ता कुराहरू उपन्यासमा रहेको छ र यो कृतिको भाषाशैली आँखाको नौनी बनेको छ, सुदुरपश्चिमको कथानक छ ।

साहित्यिक फाँटमा यो एउटा अत्यन्तै गहकिलो दस्तावेज हो भन्ने वक्ताहरूको भनाइ रहेको छ।
‘चिराक’मा पुरुषको होइन पुरुषवादको विरोध गरिएको छ र समाजमा न्यायको स्थापना गर्न आह्वान गरिएको छ भन्ने पनि वक्ताहरुको भनाई थियो ।