जनताको घरमा नगएपछि कहाबाट भोट आउछ ?

देउवाको आक्रोस


न्युज अफ नेपाल, काभ्रे ।

प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस भित्र शिर्ष नेताहरुले एकले अर्कोलाई गुटगट राजनीति गरेको आरोप लगाउन छोडेका छैनन । काग्रेस कमजोर हुनुको कारणबारे एक-आपसमा आरोप प्रत्यारोप भैरहेको छ । पार्टी भित्र गुट उपगुट मौलाईरहेको छ ।

प्रतिपक्षको भुमिकामा समेत कमजोर बनेको काग्रेस केन्द्रदेखि गाउ तहसम्म गुट उपगुटमा विभाजित भै आन्तरीक द्धन्द्धमा फसेको छ । केन्द्रका शिर्ष नेता देखि गाउका साधारण कार्यकर्तासम्मको अहिले एउटै भनाई छ– काग्रेसले आन्तरीक गुट उपगुट त्यागेर एकढिक्का नभएसम्म गुमेको साख फर्काउन सकिदैन ।

नेतृत्वमा रहने नेताहरुकै कारण पार्टी कमजोर भएको भनि काग्रेसको हरेक कार्यक्रमहरुमा आलोचना भैरहेको बेला आईतवार सभापति शेरवहादुर देउवाले आक्रोशित हुदै भन्नुभयो– आफु आफु झगडा गरेर बस्ने, जनताको घरदैलो कहिल्यै नजाने अनि काग्रेसले कहाँ भोट आउछ र चुनाव जित्छ ? । एक आपसमा झगडा गर्न छोडेर अहिले देखिनै जनताको घरदैलो गए गएर काग्रेसले आगामी निर्वाचन जित्ने सभापति देउवाको भनाई थियो ।

नेपाल शिक्षक संघ काभ्रेले आयोजना गरेको शुभकामना आदान प्रदान तथा शिक्षक सम्मान कार्यक्रममा सभापति देउवा जनता सबैभन्दा ठुलो शक्ति भएको उल्लेख गर्दै जनताको सुखदुखमा साथ दिन काग्रेसका आम नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो ।

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले सभापति देउवाको समेत चेत खुलोस भन्दै हामिले व्यक्तिगत स्वार्थको लागि मात्र काम गरिराखेका छौं की देश र जनताको लागि पनि काम गरिरहेका छौं पार्टी सभापतिलाई पार्टीभित्र समानताको व्यवहार गर्न आग्रह गर्नुभएको थियो । ‘आफ्नो गल्ति छ भने सच्चाउने, साथिको दृष्टिदोष छ भने सम्झाए हुन्छ’ भन्दै सिटौलाले सभापति देउवाको कार्यशैली प्रति असन्तुष्ट जनाएपछि सभापति देउवा आक्रोशित बन्दै आन्तरीक झगडा गरेर बसेको कारणले नै काग्रेस कमजोर भएको बताउनु भएको थियो ।

‘जनताको घरघरमा जानुस्, एकपटक हैन दुईपटक हैन तीन पटक जानुस पक्का भोट हाल्छन’ सभापति देउवाले भन्नुभयो– अब काग्रेसको एउटै उदेश्य भनेको आन्तरीक झगडा छोडेर जनताको सुखदुखमा साथ दिने हुनुपर्छ । जनताले साथ दिएपछि दुई तिहाईको सरकार हैन तीन तिहाईको सरकारले पनि घुडा टेक्ने भन्दै देउवाले देशको सबैभन्दा ठुलो मालिक जनता भएकोले काग्रेसले जनताको घरदैलोमा जानुपर्ने पनि बताउनु भएको थियो ।

अब निर्वाच आउन तीन वर्ष बाकी रहेको र यो तीन वर्ष त्यत्तिकै जाने भएकोले आजै देखि जनताको घरघरमा जान सभापतिले आग्रह पनि गनुृभएको थियो ।

नेपालका कम्युनिष्टहरु कहिले मक्सवाद, कहिले लेलिनवाद भन्दै विदेशी विचारधारबाट मात्र प्रभावित भएको भन्दै काग्रेस सभापति देउवाले अहिले सी चिनफिङ विचारधार भन्दै अघि बढेको बताउनु भएको छ । जुन पार्टीको नेपालमा कोहिपनि छैन उसलाई देश र जनताको माया नहुने भन्दै सभापति देउवाले काग्रेसको वीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, शुवर्ण शम्सेर जस्ता आफ्नै नेता र आदर्श रहेको उल्लेख गर्नु भएको थियो ।

‘नेपालमा जस्को कोही छैन उसलाई देशको माया कहा हुन्छ ?’ देउवाले भन्नुभयो– कम्युनिष्ट सरकारको क्रियाकलाप बाट जनता वाक्कदिक्क भैसके ।

काग्रेस अब आफु संग होइन अरुसंग लड्ने पार्टी बनाउनु पर्छ भन्दै देउवाले अब कहिल्यै नआउने गरि कम्युनिष्टलाई सिद्धाउने गरि काग्रेस अघि बढ्ने बताउनु भएको छ । पञ्चायत, राणा र राजालाई सिद्धाएको काग्रेसले अब कम्युनिष्टलाई सिद्धाउछ भन्दै उहाले सरकार विरुद्ध अब कठोर रुपमा अघि बढ्नेपनि बताउनु भएको छ । कार्यक्रममा नेता सिटौलाले वर्तमान सरकार गठन भएको प्रारम्भबाट नै संवैधानिक परिषद् आफ्नो कब्जामा गरेको र दुईतिहाईको दम्भमासबै संवैधानिक अंगलाई आफ्नो नियन्त्रणमा राखेको आरोप लगाउनु भएको थियो ।

‘वर्तमान सरकारले संविधानभित्र बाट शासन चलाउन खोजेको छैन, चीनको एकदलिय विचारधाराबाट सरकार चलाउन खोजेको छ’ नेता सिटौलाले भन्नुभयो– अहिले संविधान रहने तर व्यवस्थाचाहि संविधान अनुसार नचल्ने अवस्थामा पुगेको छ । संविधान निर्माणका क्रममा संवैधानिक परिषद् गठनका सन्दर्भमा सबैभन्दा बढी ध्यान पुर्याएको स्मरण गर्दै सिटौलाले भन्नुभयो– प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रध्यान न्यायाधिश, प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका सभामुख र विपक्षि दलका नेता हुन्छ । चेक एण्ड व्यालेन्स हुने गरि बनाइएको यो परिषदमा अहिले नेकपाको एकलौटी छ ।

प्रतिनिधिसभामा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्नै भएपनि एउटै दलको भएको भन्दै उहाले अहिले संवैधानिक परिषदले मनपरि गरेको भन्दै दुईतिहाईको दण्डा देखाएर सबै संवैधानिक निकायलाई सरकारको लाचार छाया बनाएको सिटौलाको भनाई थियो । बहुदलिय लोकतन्त्र जोगाउन अब काग्रेस भित्र आन्तरीक एकता आवश्यक भएको भन्दै उहाले पार्टीभित्र शैद्धान्तिक, व्यवहारिक, आचरण सबै दृष्टिकोणले एकढिक्का हुनुको विकल्प नभएको पनि बताउनु भएको थियो ।

कार्यक्रममा काग्रेस केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले पार्टीभित्र एकले अर्कोलाई दोष देखाएरमात्र नहुने भन्दै आन्तरीक रुपमा सबै एकढिक्का हुनुपर्ने धारणा राख्नु भएको थियो । केन्द्रिय सदस्य बद्री पाण्डेले अब १५ वर्ष सम्म लोकतन्त्रको रक्षा काग्रेसले गर्नुपर्ने भन्दै त्यति बेलसम्म कम्युनिष्टहरु कि त सुध्रिसकेको हुने की त समाप्त भैसकेको हुने बताउनु भएको थियो ।