बुटवलमा दशैं सस्तो बजार सुरु


यमलाल भुसाल, बुटवल ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा आईतबारदेखि बुटवलमा १९ औं संस्करणको दशैं सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ सचिवालय परिसर बालमन्दिरमा सञ्चालन गरिएको दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उद्घाटन गर्नुभएको हो ।

दशैं सस्तो बजार उद्घाटन कार्यक्रममा बोल्दै मेयर सुवेदीले चाडपर्वहरुलाई लक्षित गरेर दशैंको समयमा बुटवल उद्योग बाणिज्य संघले दशैं बजार सञ्चालन गरेर राम्रो काम गरेको औंल्याउँदै सस्तो बजारमा बिक्रि वितरण गरिने बस्तुको गुणस्तरमा कायम गर्न पनि आग्रह गर्नुभयो । उहाँले बुटवल नगरपालिकाले आगामी तीन वर्ष भित्रमा वेरोजगार युवालाई सीप सिकाएर बेरोजगारी समस्या निर्मुल गरिने बताउनु भयो ।

त्यस अवसरमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारीले उपभोक्तालाई ध्यानमा राखेर बुटवल उद्योग बाणिज्य संघले निरन्तर दशैं सस्तो बजार संञ्चालन गरेर राम्रो काम गरेको बताउनु भयो । उहाँले अहिलेपनि नेपाली उपभोक्ता सुनौली पारि बजार गर्न जाने प्रबृत्ति कायमै रहेको बताउँदै सस्तो मात्रै भन्दा पनि गुणस्तरीय सामानको उपभोगमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।

संघका अध्यक्ष खिमबहादुर हमालले सरकारले गर्नुपर्ने काम नीजि क्षेत्रबाट बुटवल उद्योग बाणिज्य संघले गर्दै आएको भएपनि सरकारी संयन्त्रबाट पूर्ण सहयोग प्राप्त हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले संघले गरेको यस प्रकारका कार्यक्रमलाई समिक्षा गरेर सुझाव सल्लाह दिन पनि आग्रह गर्नुभयो ।

घटस्थापनादेखि यहि असोजको १७ गतेसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा खाद्यान्न, दैनिक उपभोग्य बस्तु, टर्की, लोकल कुखुरा, अण्डा, छपियाको माछा, चिया, डिडिसीको दुग्धजन्य उत्पादन, साल्ट ट्रेडिङ्को नुन, चिनी लगायतका ३० वटा स्टल राखिएको दशैं बजारका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेलले जानकारी दिनुभयो । त्यस्तै नेपाल राष्ट्र बैंकको सहयोगमा प्रतिव्यक्ति ५ हजार ५ सय रुपैंयाका दरले नयाँ नोट सटहीको व्यबस्था मिलाईएको छ ।

हुनेखानेका लागि मात्रै नभएर हँदा खानेहरुकालागि पनि दशैं सहज बनाउनकालागि पनि बुटवल उद्योग बाणिज्य संघले दशैं सस्तो बजार सञ्चालन गर्दै आएको बताउँदै संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले स्टल संख्या बढाउने भन्दा पनि सुलभ र गुणस्तरमा ध्यान दिईएको बताउनु भयो । उहाँका अनुसार दशैं सस्तो बजरमा बस्तुका आधारमा ३० प्रतिशतसम्म छुटका व्यबस्था मिलाईएको छ ।

दशैं सस्तो बजार उद्घाटन कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष जेतप्रसाद विश्वकर्मा, नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष कन्हैयालाल कसौधन, डिडिसी बुटवल कार्यालयका प्रमुख अयुव अलि खाँ लगायतले शुभकामना व्यक्त गर्दै बुटवल उद्योग बाणिज्य संघले सरकारले गर्नुपर्ने काम गरेको उल्लेख गर्दै यस्ता काममा सरकारको पनि सहयोग अपरिहार्य रहेको भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।