संम्बिधान संशोधन नभए सडक आन्दोलनः समाजवादी नेता राई


यमलाल भुसाल, बुटवल ।

समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र प्रचण्डसंग भएको लिखित सहमति कार्यान्वन नभएकोे बताउनु भयो ।

सरकारलाई समर्थ गरि सरकारमा सहभागिता हुदाँ भएको लिखित सहमति अनुसार संविधान संशोधन नभए आन्दोलनमा जाने उहाँले चेतावनी दिनु भएको छ् ।
रिपोर्टर्स क्लवले प्रदेश पाँचले आइतबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै संविधान संशोधन गरेर समाजवादी पार्टीले उठाएका माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत उहाँको कथन छ ।

उहाँले शर्तसहित सरकारलाई समर्थन गरिएको बताउंदै शर्त पुरा नभए सडकबाट आन्दोलन गरिने धारणा राख्नु भयो । पूर्व मन्त्रीसमेत रहनु भएका राईले भाषिक, धार्मिक, समानुपातिक, समावेशी, साशकीय स्वरुप, निर्वाचन प्रणालीप्रति संविधानमा तुर्टी भएकाले संविधान संशोधन गर्नुको विकल्प नभएको दावी गर्नु भयो ।

सरकारका केही मन्त्रीहरुको अपरिपक्कताका कारण सरकार समस्यामा परेको उल्लेख गर्दै उहाँले सरकारको पक्षबाट भएका अराजकता नरोकिए लोकतान्त्रीक गणतन्त्रमाथि संकट आउन सक्ने बताउनु भयो । वरिष्ठ नेता राईले भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणले पञ्चायती शैलीको झल्लो दिएको बताउनु भयो ।

नेता राईले सो आक्रमणले आफूमाथि पञ्चायतमा भएको आक्रमणको सम्झना गराएको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ‘अरिंगाल’हरु नियन्त्रण नगर्न नसके त्यसले लोकतन्त्रमा असर पार्ने चेतावनी समेत दिनु भयो ।

भ्रष्टाचार र घुसखोरी वर्तमान सरकारका पालामा बढेको आरोप लगाउँदै उहाँले यसको न्यूनीकरण नभए जनता निरास भएर सडकमा उत्रिन सक्ने चेतावनी पनि दिनु भयो ।

उहाँले सत्ताको आडमा कसैलाई निषेध गर्न नहुने बताउंदै विप्लव नेतृत्व नेकपालाई वार्ताको माध्यमबाट असन्तुष्टीलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । विप्लव नेतृत्व नेकपालाई हिंसाको बाटो छोडेर वार्ताको माध्यमवाट समस्याको समाधान खोज्न आग्रह गर्नु भयो । रामकुमार क्षेत्रीको अध्यक्षतमा कार्यक्रम भएको थियो ।