आगमछें र देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गरिने


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको आगमछें मन्दिुर र ललितपुरको दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले आगमछें र देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गर्ने निर्णय गरेको हो ।

२०७२ सालको भूकम्पबाट क्षति भएका आगमछें र देगु तलेजु मन्दिर जापान सरकारको आर्थिक सहयतामा पुनर्निर्माण गर्ने सम्झौता छ ।

पुनर्निर्माण प्राधिकरणको पहलमा यसअघि नै आगमछें मन्दिर उपभोक्ता समितिमार्फत गर्न जनप्रतिनिधिहरु, स्थानीय समुदाय र जापान सरकार सहमत भएका थिए ।

टेण्डरमार्फत् गर्ने कि उपभोक्ता समितिमार्फत गर्ने भन्नेमा कुरा नमिकाले आगमछेंको पुनर्निर्माण अघि बढ्न सकेको थिएन । उपभोक्ता समितिमार्फत् पुनर्निर्माण गर्ने सहमति भए पनि पुनर्निर्माणका क्रममा मन्दिरको माथिल्लो भागलाई काठको टेको लगाएर अड्याउने कि ज्याक लगाएर भन्नेमा एकमत हुन बाँकी छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सुरक्षित तरिकाले मन्दिरको पुनर्निर्माण गर्नु महत्वपूर्ण भएकाले प्राविधिक पक्षमा धेरै अल्झिन नहुने बताउनुभयो ।

ललितपुर महानगरापालिकाले उपभोक्ता समितिमार्फत् देगु तलेजु मन्दिर पुनर्निर्माण गर्न माग गरेको थियो ।

‘पाटन संरक्षित स्मारक क्षेत्रभित्र पर्ने देगु तलेजु मन्दिरको पुनर्निर्माण कार्य ललितपुर महानगरपालिकाबाट गठित देगु तलेजु मन्दिर उपभोक्ता समितिमार्फत् गर्न स्वीकृत दिने’ कार्यकारी समितिको निर्णयमा उल्लेख गरिएको छ ।