क्रिकेट संघका अध्यक्षको गृह जिल्लामा दीपावली


विनोद सिंह विष्ट,बैतडी। नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय अध्यक्षमा चतुरबहादुर चन्द अत्याधिक मतले विजयी भएपछि उहाँको गृह जिल्ला बैतडीमा खुसीयाली मनाइएको छ । प्यानल नै विजयी भएको चन्द नेतृत्वको नयाँ टीमले नेपाली क्रिकेटको विकासका लागि सफल रहोस भनेर दीप प्रज्वलन समेत गरिएको छ ।

उद्योग वाणिज्य संघको अगुवाईमा भएको कार्यक्रममा व्यापारी, बुद्धिजीवी पत्रकार लगायतको सहभागिता रहेको थियो । चन्दको जितले नेपाली क्रिकेटको विकास हुने आसा पलाएको उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो । सुदूरपश्चिमको बैतडी क्रिकेटको उर्वर भूमी भएको र यसै भूमीले क्रिकेटको नेतृत्व पाएकाले क्रिकेटको विकास हुने उहाँले बताउनुभयो ।

नेपाली क्रिकेट क्षेत्रमा देखिएको समस्या अब समाधान हुने बैतडीबासीले आसा समेत गरेका छन् । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार काठमाडौंमा सम्पन्न विशेष साधारण सभाबाट चन्द अध्यक्षमा निर्वा्चित हुनुभएको हो ।

 

५९ जना प्रतिनिधि रहेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी विनयराज पाण्डेले १५ मत मात्र प्राप्त गर्नुभयो । अन्य पदाधिकारीमा समेत चन्द प्यानलले बहुमत प्राप्त गरेको छ ।

संघको उपाध्यक्षमा चन्द प्यानलका राजुबाबु श्रेष्ठले ४१ मत पाएर निर्वा्चित भए भने सचिवमा पनि चन्द प्यानलकै अशोकनाथ प्याकुरेल ४३ मत पाउँदै विजयी हुनुभभयो । कोषाध्यक्षमा चन्द प्यानलका रोशन कुमार सिंह ४५ मत पाएर निर्वा्चित हुनुभयो ।

क्यानमा नयाँ नेतृत्व आएसंगै निलम्बन फुकुवा हुने बाटो पनि खुलेको छ । आईसीसीले सरकारी हस्तक्षेप भएको भन्दै २०७३ वैशाखमा क्रिकेट संघलाई निलम्बन गरेको थियो ।