काँग्रेस प्रचण्डको एजेण्डा बोक्ने भरिया : राप्रपा अध्यक्ष कमल थापा


पुष्कर बुढाथोकी,भक्तपुर,(नेस) । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काँग्रेसले तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डको एजेण्डा बोकेर हिडेको आरोप लगाउनु भएको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले वि.पी, गणशमान र कृष्ण प्रसाद भट्टराईको एजेण्डा छाडेर कांग्रेसले प्रचण्डको एजेण्डा बोकेर हिडेको आरोप लगाउनु भएको हो ।

कम्युनिष्टको एजेण्डा बोक्दा कांग्रेसले हारेको उल्लेख गर्दै थापाले नेपाली कांग्रेस ‘प्रचण्ड’ पथको भरिया भएको र प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले आफ्नो सिद्धान्तलाई तिलान्जली दिँदै प्रचण्डको भरिया भएकाले कांग्रेस र वर्तमान सरकार बीच कुनै भिन्नता नरहेको बताउनु भयो ।

गणतन्त्र ,धर्म निरपेक्षता र संघियता नेपालको एजेन्डा नभई बिदेशको एजेन्डा भएको र यसलाई प्रचण्डले भरियाका रुपमा नेपाल भित्र्याएको र यसलाई नै कांग्रेसले आत्मसाथ गर्दै पछि पछि लागेको उहाँले बताउनु भयो ।

उहाँले परिवर्तनका नाममा हिन्दु राष्ट्रको पहिचान समाप्त परियो, राज संस्थालाई पाखा लगाइयो, एकात्मक देशलाई संघियतामा लादियो, राष्ट्रघाति कदम चाल्दै नागरिकता बिदेशीलाई दिने वातावरण तयार पारियो र देशलाई अस्थिरता निम्ताउने काम वर्तमान सरकारले गरेको आरोप लगाउनु भयो ।

अहिले योजनाबद्ध रुपमा प्राचिन र मौलिक धर्म माथि आक्रमण भईरहेको भन्दै उहाँले नेपालको धर्म र संस्कृति त्यागेर विदेशी विदेशी धर्म स्थापना गर्ने दुस्प्रयास भईरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।ठूला दलका केही वरिष्ट नेताहरु नै विदेशीको प्रभावमा पर्दा नेपालको धर्म, संस्कृतिमा संकट आएको भनाई राख्नुभयो ।

नेपालको धर्म संस्कृतिमा भईरहेको अतिक्रमणलाई रोक्न नसके यहाँको पहिचान र अस्तित्व गुम्ने भनाई राख्नुभयो ।राप्रपा अध्यक्ष थापाले विश्वमा तिब्र रुपमा ईसाईकरण हुने पहिलो देश नेपाल भएको एक तथ्यांकले देखाएको बताउँदै नेपालको धर्ममाथि ईसाईको बढ्दो अतिक्रमण रोक्नु पर्नेमा जोड दिनुभयो ।

राप्रपाले हिन्दू राष्ट्रका लागि आन्दोलन र अभियान संचालन गरेको बताउदै उहाँले यो अभियान कुनै पार्टी वा धर्म बिरुद्ध नभई हिन्दू धर्ममाथि बढ्दो बाह्य आक्रमण रोक्न चालेको बताउनुभयो । धर्म र संस्कृति संकटमा परेका बेला सबै एकजुट भएर संरक्षण गर्नु पर्ने बेला आएको उहाँले बताउनु भयो ।

आफ्नो देशको धर्म, संस्कृति, पहिचान र अस्तित्व संकटमा पर्दा पनि जनता चूप लागेर बस्न हुदैन भन्नुभयो ।राष्ट्रघाती नागरिकता ऐनको नाममा हजारौ विदेशीलाई नागरिकता बाडिएको आरोप लगाउदै उहाँले प्रचण्डका गलत एजेण्डाका कारण देश संकटमा पर्दै गएको भनाई राख्नुभयो ।

दलहरुले संघीय लोकतान्त्रिक गणत्रन्त्रको नाममा राष्ट्रियतको जग नै भत्काएको आरोप लगाउँदै यदि जगमा धमिरा लागेको थियो भने उपचार वा पुननिर्माण गर्नुपथ्र्यौ तर भत्काउने नै काम भयो ,उहाँले भन्नुभयो ।

राप्रपा अध्यक्ष थापाले अहिले नेकपामा मात्रै होईन काँग्रेसमा पनि सैद्धान्तिक विचलन आएको बताउनुभयो । उहाँले नेकपा र काँग्रेसले जनतालाई रैती ठानेको आरोप लगाउदै स्वाभिमानी नेपाली नागरिक कुनै पार्टीको दास भएर बस्न नहुने भनाई राख्नुभयो ।

नेकपा र कांग्रेसका नेताहरु सिद्धान्तबाट बिचलित र चरित्र भ्रष्ट भएको बताउँदै उहाँले देशमा अहिले ईतिहासमै सबैभन्दा ठुलो भ्रष्टाचार भैरहेको बताउनुभयो ।एनसेल देखि जहाज र बालुवाटार लगायतका सार्वजनिक जग्गा समेत राजनैतिक नेतृत्व ,प्रशासन र अदालतकोसम्म सेटिङ मिलाएर अनियमितता गरिएको आरोप लगाउनुभयो ।

परिवर्तनका नाममा भएका गलत नीतिले देश अप्ठ्यारोमा पर्दै गईरहेको बताउँदै थापाले ४० लाख युवा तातो मरुभूमिमा रगत पसिना बगाउन बिदेशिन बाध्य हुँदा पनि सरकार बिदशीकै गुलामीमा लागेको र युवा निर्यातमा चिन्तित नभएको गुनासो गर्नुभयो ।वर्तमान सरकार देशमै रोजगार श्रृजना गर्ने तर्फ लाग्नु भन्दा पनि बैदेशिक रोजगार जाने तालीम प्रदान गर्दै सरकाले गलत नीति लिइरहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङ,टंक ढकाल,रोशन कार्की,यवती कार्की,जिल्ला सचिब श्याम नेपाल ,राप्रपा भक्तपुर जिल्ला अध्यक्ष माधव खत्री लगायतले राप्रपा बैकल्पिक शक्तिको रुपमा उदाएको भन्दै हिन्दू राज्यको अभियानमा सहभागि हुन आग्रह गर्नुभयो ।कार्यक्रममा बिभिन्न दलहरु परित्याग गरि राप्रपा प्रवेश गर्नेहरुलाई टीका र खादा लगाएर स्वागत गरिएको बतानुभयो ।

  • योजनाबद्ध रुपमा प्राचिन र मौलिक धर्म संस्कृति माथि आक्रमण
  • राष्ट्रघाती नागरिकता ऐनको नाममा हजारौ विदेशीलाई नागरिकता बाँडियो
  • देशमा अहिले ईतिहासमै सबैभन्दा ठुलो भ्रष्टाचार
  • गणतन्त्र ,धर्म निरपेक्षता र संघियता नेपालको एजेन्डा नभई बिदेशको एजेन्डा
  • गलत एजेण्डाका कारण देश संकटमा पर्दैस्वाभिमानी नेपाली नागरिक कुनै पार्टीको दास भएर बस्न नहुने