बर्षाले डिमुवा–राम्जा सडक कालोपत्रे प्रभावित, बनेका संरचना पनि भत्किए


नेपाल समाचारपत्र,पर्वत । लगातारको बर्षाका कारण कालोपत्रे गर्न ठिक्क बनेको पर्वतको मोदी गाउँपालिका स्थित डिमुवा– राम्जा सडकको कालोपत्रे गर्ने कार्य प्रभावित बनेको छ । बाढीका कारण तयार तयार बनेका धेरै संरचना भत्केपछि कालोपत्रे गर्ने कार्य पुरै प्रभावित बन्न पुगेको हो ।

लगातारको बर्षा सडकको नाली, टेवा पर्खाल र कालोपत्रे गर्न बिच्छाएको बेस र सब बेस समेत बगाएका कारण निर्माण कार्य प्रभावित भएको छ । झण्डै एक बर्ष पहिले देखि अलपत्र अबस्थामा रहेको पर्वतको डिमुवा देखि राम्जा चित्रे जोड्ने डिमुवा– राम्जा सडक कालोपत्रे गर्ने बैषाखबाट सुचारु भएको थियो ।

सडक निर्माण गर्ने गजुरमुखी निर्माण सेवाले दिएको जानकारी अनुसार भदौ २२ गते देखि २९ गते सम्म भएको बर्षाले धेरै संरचना बगाएको छ भने निर्माण गरिएको नाली र टेवा, पर्खाल भत्काएको छ । ५ सय मिटर नाली, २ सय मिटर भन्दा बढी पर्खाल भत्काएको कम्पनीका साइड इन्र्चाज हरि केसीले जानकारी दिनुभयो ।

साढे १ किलोमिटर बिच्छाइएको बेस र २ किलोमिटर सबबेस पुरै बगाएको उहाँको भनाई छ । ‘कालोपत्रे गर्नका लागि पुरै तयारी गरिएको थियो’ केसीले भन्नुभयो ‘बर्षाका कारण काम त रोकियो, १ करोड भन्दा बढी क्षति भएको छ’ दशैं सम्ममा ५ किलोमिटर नै कालोपत्रे गर्ने योजना बर्षाका कारण सबै प्रभावित भएको केसीको भनाई छ

। रोकिएको काम दशैं अघि सुचारु गर्न समेत कठिन भएको उहाँले बताउनुभयो ।पुर्वाधार बिकास कार्यालय पर्वतले दिएको जानकारी अनुसार डिमुवा–राम्जा सडकमा ५ किलोमिटर पक्की गर्ने काम सुचारु भएको थियो । सडक डिभीजन अन्र्तगत रहेको सडक कार्यान्वयन गर्ने निकायको टुंगो नहुँदा गएको कार्तिक देखि काम रोकिएको थियो ।

२०७३ मंसिर २४ बाट निर्माण कार्य शुरु भएपनि तीन तहका निर्वाचनका कारण पनि सडक निर्माणले गति लिएको थिएन । गएको कार्तिक देखि सडक निर्माण पुरै रोकिएको अबस्थामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको बिशेष पहल पछि सडक निर्माण कार्य सुचारु भएको थियो ।

डिमुवा राम्जा सडक कालोपत्रे भएपछि पर्वतका तिलहार, राम्जा, चित्रे तथा कुस्मा नगरपालिकाको १८ नम्बर वडका बासिन्दाहरु प्रत्यक्ष गाबिसका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन ।

सडक कालोपत्रे भएपछि पर्यटकीय स्थल पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटक तथा होमस्टे सञ्चालन भएको चित्रे पुग्नलाई सहज हुने भएको छ । यसले त्यस क्षेत्रको आर्थिक तथा पर्यटन क्षेत्रमा उल्लेख्य परिवर्तन आउने बिश्वास लिइएको छ।

यसैगरी डिमुवा–राम्जा सडकमा पर्ने रतीखोलामा पनि पक्की मोटरेबल पुल निर्माणको काम यसै बर्ष समाप्त हुने भएको छ । सडक कालोपत्रे र पुल निर्माणपछि बाहैैमहिना सडक सञ्चालनमा आउनेछ ।