सिटिजन्स बैंकको अध्यक्षमा भण्डारी


नेपाल समाचारपत्र, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलको १३आंै वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष डा. शंकरप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भयो।सभाले आव २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ।

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ असार मसान्तको वासलात, आव २०७५/७६ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरण छलफल गरी स्वीकृत भएको छ।

त्यसैगरी साधारणसभाले गत आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट १२ प्रतिशतले हुने नगद लाभांश र ३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।

साधरणसभाले संस्थापक समूहअन्तर्गत राजनसिंह भण्डारी, प्रवलजंग पाण्डे र सजन शर्मालाई निर्विरोध निर्वाचित गरेको छ। यस्तै सर्वसाधारणको तर्फबाट सीता कार्की निर्विरोध निर्वाचित हुनु भएको छ।

साधारणसभापछि बसेको सञ्चालक समितिको ३१४औं बैठकले राजनसिंह भण्डारीलाई अध्यक्षको रुपमा मनोनयन गरेको छ।

सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७५/७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ।

बैंकले सोही अवधिभित्र १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ। बैंकले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरी अन्य प्रक्रियागत कार्यहरू अगाडि बढिरहेको जनाएको छ।

संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरू बिस्तार गर्ने योजना अगाडी सारेको छ।