सूचनाको हकसम्बन्धी अभियान सम्पन्न


नेपाल समाचारपत्र, काठमाडौं। सूचनाको हकको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा यही सेप्टेम्बर २२ देखि शुरु भएको साताव्यापी नागरिक अभियान शनिबार विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ।

यस अवसरमा नेपालका नागरिक संघसंस्थाको सहकार्यमा ‘सूचनाको हकका लागि नागरिक अभियान’ नाम साझा मञ्च तय गरी सोको संयोजनमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको थियो।

अभियानको अन्तिम दिन शनिबार बिहान भृकुटीमण्डपबाट प्रभातफेरी निकालिनुका साथै दिनभर मोबाइल आईटीआई क्लिनिक तथा चोक–चोकबाट सूचना माग्न आह्वान गरिएको थियो।

हरेक वर्षको २८ सेप्टेम्बरको दिनलाई लक्षित गरी नेपालमा फ्रिडम फोरम लगायतका संघसंस्थाले विगत एक दशकदेखि सूचनाको हकको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएका छन्।

आयोजकहरूका अनुसार यस दिवस तथा अभियानको मुख्य उद्देश्य सूचनाको हकबारे नागरिक चेतना अभिवृद्धि गर्ने, शासकीय मामिलामा नागरिकका सरोकारबारे प्रश्न गर्ने र सबै सार्वजनिक निकायलाई सूचनाको हकसम्बन्धी दायित्व पूरा गर्नका लागि दबाब सिर्जना गर्ने हो।

यसैबीच उक्त अभियानले सूचनाको हक कार्यान्वयनका लागि आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम तय गरेको बताइएको छ।