२१ दललाई चुनाव चिन्ह्, माहोल तातियो


नेपाल समाचारपत्र, काठमाडौं।उपनिर्वाचनका लागि २१ दलले चुनाव चिन्ह पाएसँगै चुनावी माहोल तातिएको छ।
निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दर्ता भएका दललाई निर्वाचन चिन्ह् प्रदान गरेको हो।

‘सूर्य, रुख, त्रिशूल, हलो, पुरुष, साँचो, धारा, कुखुराको भाले, तारापुञ्ज, हवाईजहाज करुवा, ट्र्याक्टर, हृदय, चंगा, हँसिया–हथौडा, हत्केला, तराजु, नमस्कार आदि पार्टीका चुनाव चिन्ह।’ 

आयोगले संविधानको धारा २७१, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी निर्वाचन चिन्ह प्रदान गरेको हो।

दर्ता भएका दलहरूमा साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक, नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा) र नेपाल लोकतान्त्रिक पार्टी रहेका छन्।

यस्तै अन्य दलमा समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली कांग्रेस (बीपी), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) छन्।

राजनीतिक दलहरूले आयोगमा दल दर्ताका लागि पेस गरेका निवेदनबमोजिम दल दर्ता गरी निर्वाचन चिन्ह् निर्धारण गरेको हो। एमाले र माओवादी एकतापछि बनेको सत्तारूढ नेकपाले उपनिर्वाचनमा सूर्य चुनाव चिन्ह् प्रयोग गर्ने भएको छ।

अघिल्लो निर्वाचनमा उक्त चिँन तत्कालीन नेकपा एमालेको थियो। नेकपा माओवादी केन्द्रले गोलाकारभित्रको हँसिया हथौडा चिन्ह् प्रयोग गरेको थियो।

तर गोलाकारभित्रको हँसिया–हथौडा चिन्ह् यसपटक पनि मतपत्रमा छापिनेछ। एमाले र माओवादीको एकतासँग असन्तुष्ट रहेका गोपाल किराँतीको पार्टीले सोही चुनाव चिन्ह् प्रयोग गर्ने भएको हो।

यस्तै, सत्तारूढ समाजवादी पार्टीले पाँच औंलासहितको हत्केला चुनाव चिन्ह् प्रयोग गर्ने भएको छ। उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी एकीकरण भएर समाजवादी पार्टी बनेको हो।

फोरमले मसाल र नयाँ शक्तिले आँखा चुनाव चिन्ह् लिएर यसअघि निर्वाचन लडेका थिए। यस्तै, साझा पार्टीले तराजु चुनाव चिन्ह् पाएको छ।

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले गत चुनावअघि नेपाली कांग्रेससँग एकीकरण गरेको थियो। तर एकीकरणमा असन्तुष्टले नेपाल फोरम लोकतान्त्रिक पार्टीको नाममा दुई हात जोडेको नमस्कार चुनाव चिन्ह् पाएका छन्। सीके राउतको जनमत पार्टीले लाउड स्पिकर चुनाव चिन्ह् पाएको छ।

ग्रिन पार्टी नेपालले त्रिशूल, राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) साँढे गोरु, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले हलो, मुस्कान सेना नेपालले पुरुष, नेपाल परिवार दलले साँचो, हाम्रो पार्टीले धारा, मंगोल नेसनल अर्गनाइजेसनले कुखुराको भाले, नेपालवादले तारापुञ्ज, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीले नेपाल हवाईजहाज, नेपाली कांग्रेस बीपीले करुवा, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीले नेपाल ट्र्याक्टर, आमूल परिवर्तन मसिहा पार्टी नेपालले हृदय र राष्ट्रिय नागरिक पार्टीले चंगा चिन्ह् पाएका छन्।