विप्लव पोलिट ब्युरो सदस्य बममाथि बाँके कारागारमा दुर्व्यवहार


न्युज अफ नेपाल, बाँके ।

विप्लवका साबिक पोलिट ब्युरो सदस्य भरत बम ‘रणवीर’ माथि बाँके कारागारमा दुर्व्यवहार भएको छ।

कारागारभित्रको आन्तरिक प्रशासनका व्यक्तिले दुर्व्यवहार गरेको रणवीरले आफुमाथि अश्लील शब्द प्रयोग गरेर दुर्व्यवहार गरेको बताए । ‘हामीबीच आन्तरिक सहमति भएको छ। म एउटा निश्चित सीमामा रहनुपर्छ’ भन्दै उनले सबै कुरा खोलेनन् । कुटपिट भने नभएको उनको भनाइ छ ।

शुक्रबार कारागारमा लागू औषधसहित एक युवती पक्राउ परिन् । मैले अरु कारागारमा लागू औषधको कारोबार हुन्छ भन्ने सुनेको थिएँ । यहाँका आफ्नै आँखा अगाडि देखेपछि विरोध गरेको उनले बताए । ‘कारागारमा लागू औषधको ओसारपसारविरुद्धको कुरा गर्दा ममाथि अश्लील शब्द प्रयोग भयो‘– उनले बताए ।

कारागारभित्र लागूू औषध नियन्त्रण र युवती नियन्त्रणमा लिइएको विषयमा कारागार प्रमुख जेलर भरतराज पाण्डे, सहायक जेलर सुब्बा दीपेन्द्र पौडेल र बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले भने स्वीकार गरेनन् । उनीहरुले लागू औषधसहित कोही पनि व्यक्ति पक्राउ नपरेको दाबी गरे ।

जाजरकोट घुम्न गएको बताएका जेलर पाण्डेले एक वर्षको अवधिमा दुई तीन पटक कारागारबाट लागू औषध गाँजा नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा दिए पनि शुक्रबार कुनै लागू औषध र युवती नियन्त्रणमा नलिएको बताए ।

बाँके कारागारमा विप्लव समूहका छ जना नेता छन्। उनीसँगै जाजरकोटका तत्कालीन जिल्ला प्रमुख पौरख मल्ल भनिने बलबहादुर मल्ल, प्रकाश आचार्य, कालीबहादुर परियार, तिलक गिरी र बीरबहादुर नेपाली कारागारमा रहेका छन् ।