सहकारीलाई उत्पादनसँग जोड्नुपर्छः सभामुख श्रेष्ठ   


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । चन्द्रागिरिस्थित देव दर्शन बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिक साधारणसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सहकारीलाई उत्पादन र रोजगारीसँग जोडेर आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने बताउनुभएको हो ।

सभामुख श्रेष्ठले प्रदेश सरकारले सहकारी ऐन पारित गरिसकेको बताउँदै कार्ययोजना कार्यान्वयनमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । सहकारीको माध्यमबाट आयतलाई विस्थापन गर्दै कृषि, पर्यटन र उद्योगमा लगानी वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो । प्रदेशसभा सदस्य बेलीमाया घलेले प्रदेश सरकारको विकास र समृद्धिका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । सहकारी अभियानकै कारण समग्र महिलाको सशक्तिकरणमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सहकारीको पूँजीलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । चन्द्रागिरि नगरपालिकामा १४० हाराहारीमा सहकारी रहेको उहाँले बताउनुभयो । सहकारीका अध्यक्ष रामनारायण घिमिरेका अनुसार संस्थाको गत आवको अन्त्यसम्म रु तीन करोड ३७ लाख ५६ हजार ५०० शेयर पूँजी, रु ६३ करोड ९० लाख ७२ हजार बचत सङ्कलन र रु ५६ करोड ३२ लाख छ हजार ऋण लगानीसँगै रु ७३ करोड ३८ लाख ९८ हजार कूल कारोवार गरेको छ ।
रासस