सडक निर्माणका ठेकेदार गायब, भीमढुंगा–सीतापाइला सडक निर्माण अलपत्र


न्युज अफ नेपाल, धादिङ ।

प्रायजसो सवारी चाप हुने नौबिसे–नागढुंगा सडकको वैकल्पिक मार्गका रुपमा बनाउन लागिएको भीमढुंगा–सीतापाइला सडक निर्माणले गति लिएको छैन । सडक निर्माणका मुख्य ठेकेदार सम्पर्कविहीन भएपछि धादिङ धुनीबेंसीको धार्के बजारस्थित पृथ्वी राजमार्गबाट काठमाडौं सिमाना ठूलोखोला हुँदै भीमढुंगा–सीतापाइला जोडिने २६ किलोमिटर सडक निर्माण अलपत्र परेको हो ।सडक निर्माणको जिम्मा प्रदेश ३ सरकारबाट कोसी–न्यौपाने निर्माण कम्पनीले लिएको थियो । अहिले उक्त कम्पनी सडक विभागको सम्पर्कमा छैन ।

धार्केदेखि ठूलोखोलासम्म नाली बनाउने, सडक चौडा गर्ने, ह्युमपाइप गाड्ने र कजबे बनाउने गरी करिब १२ करोड रुपैयाँमा ठेक्का लागेको थियो । मुख्य ठेकेदारले कम्पनीको जिम्मेवारी स्थानीय ठेकेदार सुरेश लामालाई दिएर सम्पर्कविहीन भएका हुन् । मूल ठेकेदारले सब–ठेकेदारलाई काम गरेको रकम नदिएपछि उनीहरु पनि पन्छिन खोजे जस्तो छ ।

पहिलो चरणको निर्माण सकिएपछि ग्राभेल हालेर स्तरोन्नति गर्ने जिम्मा ५ करोड रुपैयाँमा जिल्लाकै शिवराम भण्डारीले लिएका छन् । उनले ठूलो खोलासम्मको १३ किलोमिटर सडक निर्माण गर्नेछन् । तर पहिलो चरणकै काम नसकिँदा दोस्रो चरणको काम थाल्न नसकिएको उनले बताए । आउँदो असारसम्म ग्राभेल गरिसक्ने म्याद छ । वैकल्पिक सडक नहुँदा नौबिसे–नागढुंगा सडकमा सधैंजसो जाम हुने गरेको छ ।

घण्टौंको जाम छल्न तत्काल वैकल्पिक सडक सञ्चालनमा ल्याउने तयारी गरिएको प्रदेश सांसद राजेन्द्र पाण्डेले बताए । यो सडक धार्केदेखि धादिङ ठूलोखोलासम्म १३ किलोमिटर र त्यसपछि भीमढुंगा हुँदै काठमाडौं सीतापाइलासम्म १० किलोमिटर निर्माणाधीन छ । यो सडक १२ मिटर चौडा गरि चालू आर्थिक वर्षमा ग्राभेल गर्न निर्माण कम्पनीलाई जिम्मा दिइ सके पनि निर्माण कम्पनीको लापरवाहीले काम सम्पन्न हुन सकेको छैन ।