भरतमोहन अधिकारीः व्यक्ति एक, व्यक्तित्व अनेक भएका नेता


न्युज अफ नेपाल, काठमाडाैं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले भरतमोहन अधिकारी व्यक्ति एक, व्यक्तित्व अनेक भएका नेताको रुपमा स्मरण गरेका छन् । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीति मात्रै होइन, आर्थिक, सामाजिक, साङ्गठनिक र व्यावहारिक रुपमासमेत अधिकारीलाई प्रेरणादायी व्यक्तिको रुपमा स्मरण गर्नुभयो ।

विसं २०४७ को संविधान निर्माणमा अधिकारीको योगदान अतुलनीय रहेको स्मरण गर्दै नेता नेपालले २०५१ सालमा तत्कालिन सरकारमा अर्थमन्त्रीका हिसाबले उहाँले ऐतिहासिक काम गर्नुभएको उल्लेख गर्नुभयो । “आफ्नो गाउँ आफैँ बनाऔँ, वृद्ध भत्ता मात्रै होइन के गर्दा जनतालाई राहत मिल्छ भनेर सधैँ तल्लीन रहने व्यक्ति हुनुहुन्थ्यो, अर्थतन्त्र कसरी बलियो बनाउन सकिन्छ भनेर सोचिरहनुहुन्थ्यो”, नेता नेपालले सम्झनुभयो ।

पार्टीको आर्थिक विभाग प्रमुख रहँदा पनि उहाँले एक्लै नहिँडी सबैको सहकार्य र साझा भावनाका साथअघि बढेको स्मरण गर्र्दै नेता नेपालले त्यो बेला हरेक वर्ष उद्योगी व्यवसायीसँग पार्टीले छलफल चलाउँदै आएकाले उनीहरुसँग घनिष्ठ सम्बन्ध थियो भन्नुभयो । अहिले लामो समयदेखि यसरी व्यवसायीसँग छलफल हुन नसकेकोमा उहाँले चिन्ता प्रकट गर्नुभयो । कुनै पनि विवादमा नमुछिएका नेता अधिकारीको पार्टी एकीकरण, संविधान निर्माण, आर्थिक विकास, पार्टी सुदृढीकरण, अन्तर पार्टीबीचको कटुता अन्त्य गर्नमा भूमिका सधैँ सकारात्मक र समन्वयकारी रहेको नेता नेपालले बताउनुभयो ।

कार्यक्रममा पूर्व मन्त्री राधाकृष्ण मैनालीले अधिकारीलाई विमती राख्दा राख्दै पनि सहमतिमा आउनसक्ने नेताको रुपमा स्मरण गर्दै वाममोर्चा निर्माणमा उहाँको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । डा कृष्ण कोइरालाले पूर्वमा नेकपाको स्थान बलियो हुनुमा नेता अधिकारीको योगदानले काम गरेको उल्लेख गर्दै सादा जीवन उच्च विचारका नेता अधिकारी नयाँ दृष्टिकोणका साथ संयोजनकारी भूमिका खेल्न सक्ने गुण भएको र आजका नेताहरुले उहाँबाट सिक्नुपर्नेमा जोड दिनुभयो ।

फाउण्डेसनका सल्लाहकार तथा नेता अधिकारीका बाल्यकालका साथि कमल कोइराला, गोविन्द थापालगायतले स्वर्गीय अधिकारीको योगदानको चर्चा गर्नुभएको थियो । नेता अधिकारीको स्मृतिमा गत भदौ २३ गते फाउण्डेशन स्थापना गरिएको थियो । फाउण्डेशनबारे जानकारी दिन आजको भेटघाट कार्यक्रम आयोजना गरिएको फाउन्डेशनकी अध्यक्ष सविता अधिकारीले बताउनुभयो ।
रासस