२ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी शुरू


न्युज अफ नेपाल, धनुषा ।

नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित २ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा शुक्रबारदेखि शुरू भएको छ ।

२ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको अध्यक्षतामा शुरू भएको उक्त गोष्ठीको आजको सत्र सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मूलभूत लक्ष्य प्राप्ति र विद्यमान समस्या समाधानका लागि सुरक्षा निकायबीच साझा अवधारणा विकास गर्ने उद्धेश्यकासाथ गोष्ठी संचालन गरिएको बताउनुभयो । सबै सुरक्षा निकायका अधिकारीहरुले आपसमा समस्या र राष्ट्रिय संकल्पलाई बुझेर अगाडि बढ्न गोष्ठी सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

हरेक दृष्टिकोणले जनकपुरधाम महत्वपूर्ण रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले केही व्यवहारिक कुराहरुलाई महत्व दिई कार्य गर्दा लाभदायी हुने बताउनुभयो । जनकपुरमा विगतमा भएका सुरक्षा सम्बन्धी कार्यको चर्चा गर्दै उहाँले विगतका कुरालाई हृदयङ्गम गरी अगाडि बढेमा समस्या समाधान गर्न सहज हुने विचार व्यक्त गर्नुभयो ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम विशेष अभियानको रुपमा आएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले कार्यक्रमलाई अझै उत्साहजनक रुपमा लैजाँदै सफल बनाउन सबै सरोकारवाला निकायहरू तीव्र सक्रियताका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव कृष्णहरि पुष्करले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त गोष्ठीको आजको सत्रमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार सुरक्षाविद् प्रा.डा. ईन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले प्रस्तुतीकरण गर्नुभएको थियो । साथै गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव एवम् प्रवक्ता रामकृष्ण सुवेदी, विपद्‍ तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव ईन्दु घिमिरे, आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव रामप्रसाद आचार्य, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका

महानिर्देशक दिपक काफ्लेले शान्ति सुरक्षा, विपद व्यवस्थापन र राष्ट्रिय परिचयपत्र कार्यक्रम सम्बन्धी आ(आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।
गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल र अन्तरक्रिया समेत भएको थियो ।

शनिबार सम्पन्न हुने उक्त गोष्ठीको आजको सत्रमा २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह, प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिव दिपक सुवेदी, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रधुम्न कुमार कार्की, नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वार्टर धारपानीका पृतनापति नरेश भट्ट, २ नम्बर प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु लगायत सो प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

उक्त गोष्ठीको आजको सत्र समापन पश्‍चात् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संघीय प्रहरी ईकाई कार्यालय, संघीय प्रहरी ईकाई गण, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख लगायत २ नम्बर प्रदेश अन्तर्गत ८ जिल्लाका प्रहरी प्रमुखहरुलाई शान्ति सुरक्षा तथा समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो ।