क्यानको अध्यक्षमा चन्द निर्वाचित, अन्य पदाधिकारीमा समेत चन्दकाे प्यानल बहुमत


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।

अध्यक्ष चन्दले अर्का अध्यक्षका प्रत्यासी विनयराज पाण्डेलाई बहुमत मतले हराउँदै निर्वाचित भएका हुन् । ५९ प्रतिनिधिले मतदान गरेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर भने पाण्डेले १५ मत प्राप्त गरे ।

अन्य पदाधिकारीमा समेत चन्द प्यानलले बहुमत प्राप्त गरेको छ । संघको उपाध्यक्षमा चन्द प्यानलका राजुबाबु श्रेष्ठले ४१ मतका साथ विजयी भए । उनका प्रत्यासी मिङ्मा डाण्डु शेर्पाले १७ मत पाए । संघको सचिवमा चन्द प्यानलका अशोकनाथ प्याकुरेल ४३ मतले निर्वाचित भए । उनका प्रत्यासी विनोद कुमार मैनालीले १५ मत प्राप्त गरे । कोषाध्यक्षमा चन्द प्यानलका रोशन कुमार सिंह ४५ मतले निर्वाचित भए । उनका प्रत्यासी उपेन्द्र भट्टराईले १२ मत पाए ।

त्यस्तै, प्रदेश सदस्यतर्फ प्रदेश १ बाट कैलाश विष्टले ३७ र प्रदेश ३ बाट अमित बिर पाण्डे ३९ मत प्राप्त गर्दै अन्य पदाधिकारीमा निर्वाचित भए ।
प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट निर्विरोध निर्वाचित भए ।

हालै मात्र समावेश गरिएको महिला सदस्यमा जयन्ती भट्ट एक मात्र उम्मेदवार भएकाले निर्विरोध घोषित भइन् ।

खुल्ला सदस्यमा दुर्गा राज पाठकले ४२ मत, बिरेन्द्र वहादुर चन्दले ३६ मत, माधव कुमार कर्माचार्यले ३५ मत, संजय राज सिंहले ३४ मत र करन महोत्रा क्षेत्रीले ३० मत प्राप्त गर्दै निर्वाचित भए ।

निर्वाचनमा ३९ जना जिल्लाबाट र २० जना प्रदेशबाट आएका ५९ प्रतिनिधिले नयाँ कार्यसमितका लागि मतदान गरेका थिए ।