क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ नेतृत्व पाएको छ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।

शनिबार भएको चुनावमा अध्यक्षका अर्का प्रत्यासी विनयराज पाण्डेलाई हराउँदै चन्द अध्यक्षमा निर्वाचित भएका हुन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा शनिबार सम्पन्न विशेष साधारणसभाबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा चन्द समूहकै राजुबाबु श्रेष्ठले मिङ्मा डन्डु शेर्पालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका छन् । सचिवमा अशोकनाथ प्याकुरेलले जित हाँसिल गरेका छन् । उनले विनोदकुमार मैनालीलाई पराजित गरेका हुन् ।

कोषाध्यक्षमा रोशन कुमार सिंह विजयी भएका छन् । उनले उपेन्द्र भट्टाराईलाई हराए । प्रादेशिक सदस्यतर्फ सुदूरपश्चिम प्रदेशबाट बिक्रम विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशबाट पदमबहादुर खड्का, प्रदेश ५ बाट प्रशान्त बिक्रम मल्ल, गण्डकीबाट ऋषिराम गौतम, प्रदेश २ बाट दाउद अन्सारी निविरोध निर्वाचित भएका छन् ।