कृषि बिकास बैंक ह्याकिङ्ग प्रकरण, पर्वतबाट एक महिला पक्राउ


दुर्गाप्रसाद शर्मा, पर्वत ।

कृषि बिकास बैंक लगायतका बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतबाट एक जना महिलालाई प्रहरीले पक्रेको छ ।
बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतको बिहादी गाउँपालिका वडा नं ४ वहाकीकी ३१ बर्षिया मालतीदेवी न्यौपाने भट्टराईलाई प्रहरीले पक्रेको हो ।

भट्टराईलाई अपराध अनुसन्धान बिभाग(सिआइबी)को अनुरोधमा इलाका प्रहरी कार्यालय हुवासले शुक्रबार साँझ पक्राउ गरि शनिबार काठमाण्डौ पठाएको छ । पैंयु गाउँपालिका वडा नं ४ हुवासमा माइती घरबाट न्यौपानेलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बिजयकुमार सिंहले जानकारी दिनुभयो । भट्टराईले वहाडीठाँटीमा स्टेशनरी पसल गर्दै आउनुभएको छ ।

ह्याकरको समुहले भट्टराईको कृषि बिकास बैंक हुवास शाखामा रहेको खातामा २९ लाख रुपैंया ट्रान्सफर गरेको देखिएको छ । आफन्तले बिदेशबाट पैसा मगाउनका लागि भनेर आफ्नो बैंक खाता नम्बर मागेका कारण उपलब्ध गराएको भट्टराईले प्रहरीमा बयान दिनुभएको छ ।

आफन्तले मेरो खातामा पैसा आएन तपाईको खाता नम्बर दिनुस भनेर मागेपछि बैंक खाता नम्बर उपलब्ध गराएको दाबी भट्टराईको छ । खाता संगै दुइवटा खाली चेक दिएको पनि स्विकारेको प्रहरीले जनाएको छ ।

बैंक ह्याकिङ्गमा संलग्न भएको आरोपमा यसअघि छिमेकी स्याङ्गजाको वालिङ्गबाट रामकृष्ण भुसाललाई पनि प्रहरीले पक्रेको छ ।

अफ्रिकी मुलका काले भनिने पिटरको योजना अनुसार नेपालका बैंकहरुबाट ५ अर्ब लुट्ने योजना अनुसार कृषि बिकास बैंक, कैलाश बिकास बैंक लगायतका बैंक र पानस रेमिटबाट पैसा निकालिएको थियो । यो प्रकरणमा संलग्न १५ जना भन्दा बढीलाई अपराध अनुन्धान बिभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।