पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधन,आज अन्त्येष्टि गरिदै


काठमाडौं । पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको शुक्रबार राती ८ बजे निधन भएको छ। ८२ वर्षीय उपाध्यायको काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको पारीवारिक स्रोतले जानकारी दिएको छ ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित उपाध्याय चिकित्सकको नियमित सुपरीवेक्षणमा थिए। परिवारले आजै उपाध्यायको पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने बताएको छ । उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।

१९९४ मंसिर २० गते सिरहामा जन्मिएका उपाध्यायले करिब ३८ वर्ष न्यायासेवामा बिताए। २०५६ पुष २ गते प्रधानन्यायाधीश नियुक्त उपाध्यायले २०५९ मंसिर १९ गते अवकाश पाएका थिए। उनी २०४८ सर्वोच्चका न्यायाधीश बनेका थिए।उपाध्यायका संसद् पुनर्स्थापना, मानवअधिकार, महिला अधिकार तथा वातावरण सम्बन्धी फैसलाहरू महत्त्वपूर्ण छन्।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद् विघटन गरेपछि परेको रिटमा प्रधान न्यायाधीश विश्वनाथ उपाध्यायसहित ११ जना न्यायाधीश रहेको विशेष इजलासले संसद् पुनर्स्थापनाका पक्षमा फैसला गरेको थियो। २०५२ भदौ १२ गतेको उक्त फैसलामा उपाध्यायसहितले पुनर्स्थापनाका पक्षमा फैसला दिएका थिए।