नेपाल ट्रष्टले सुरु गर्यो देशभर आफ्नो नाममा रहेका सम्पतिको संरक्षण, अब ट्रष्टको जग्गा कुनै पनि निकायले भोगचलन गर्न नपाउने


पुष्कर बुढाथोकी,भक्तपुर(नेस)।उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको नाममा रहेका सम्पत्तिको संरक्षण सुरु गरेको बताउनुभएको छ । नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित जमिनको शुक्रबार अनुगमन गर्दै उहाँले ट्रष्टको कुनै पनि जग्गा कुनै पनि निकायले कुनै पनि बाहनामा भोगचलन गर्न नपाउने बताउनु भयो ।

नेपाल ट्रष्टको नाममा रहेको जग्गा अब ट्रष्ट आफैले संरक्षण गर्ने बताउदै उहाँले ट्रष्टले काठमाण्डौं उपत्यकाको मात्रै नभई देशभर रहेका सम्पत्तिको संरक्षण सुरु गरेको बताउनुभयो ।नेपाल ट्रष्ट संचालक समितिका अध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलले नेपाल ट्रष्टको सम्पत्ति व्यबस्थित गर्न कानून बनेको चर्चा गर्दै उहाँले मन्त्रिपरिषद्को निर्णय बिना केही गर्न नसकिने बताउनुभयो ।


यहाँको जग्गाको हकमा भने स्थानीय जनता, सम्बन्धित नगरपालिका, प्रदेश सरकार र जनप्रतिनिधीहरुको छलफलबाट बिधि संगत ढंगले साझा धारणा बनाएर निर्णय गर्ने भनाई उहाँले राख्नुभयो ।कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपाल ट्रष्टको नाममा रहेको जग्गा भक्तपुर नगरपालिकाले पर्खाल लगाएर संरक्षण गरेपनि यसको स्वामित्व लिने प्रयास भने भक्तपुर नगरपालिकाले गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिका कुनै एनजिओ नभएको टिप्पणी गर्दै स्थानीय सरकार भएकाले नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा नगरपालिकाले पर्खाल लगाएर संरक्षण गरेको बताउनुभयो ।उहाँले नगरपालिका भित्र कसैले व्यापार गर्दा कर लिने बताउदै उक्त जमिनको अतिक्रमण बढेकाले सुरक्षाका लागि पर्खाल लगाएको जानकारी दिनुभयो ।

बिगतमा १०८ रोपनी २ आना क्षेत्रफल भनिएपनि हाल १०६ रोपनी २ आनामात्र रहेको र चौर खुल्ला रुपमा हुदाँ विभिन्न विकृति बढेकाले सो कार्य गरिएको उहाँको भनाई थियो ।आगामी दिनमा समेत कुनै निकायले उक्त जग्गाको संरक्षण नगरे नगरपालिका आफैं त्यसको संरक्षणमा लाग्ने नगरप्रमुख प्रजापतिको भनाई छ । यो जग्गालाई कसरी सदुपयोग गर्ने भन्नेबारेमा बृहत छलफल गरेर निर्णय लिनुपर्ने उहाँले धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल ट्रष्ट संचालक समितिका सचिव गजेन्द्र ठाकुरले नेपाल ट्रष्टको नाममा लालपूर्जा रहेको जग्गामा भक्तपुर नगरपालिकाले कुनै स्वीकृत नलिई पर्खाल लगाउने र भाडामा लगाएको बताउनुभयो ।नगरपालिकालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत गृह मन्त्रालयले पत्र पठाएको बताउदै उहाँले यो कुनै सार्वजनिक र पर्ति जग्गा नभएकाले स्वीकृति बिना नगरपालिकाले केही गर्न नपाउने बताउनुभयो ।

विगतका कोषमा पैसा भएपनि खर्च गर्ने अधिकार नभएकाले संरक्षण गर्न केही कठिनाई भएपनि हाल व्याजको १० प्रतिशत रकम ट्रष्ट जमिन र भौतिक सम्पत्ति संरक्षण खर्च गर्न पाईने भएको उहाँले बताउनुभयो । उहाँले नेपाल ट्रष्टले छिट्टै यहाँ सानो घर बनाएर पाले र कर्मचारी राखेर व्यबस्थापन गर्ने तयारी गरेकोले यहाँको साँचो हस्तान्तरण गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।

नेपाल ट्रष्ट संचालक समितिका सदस्य सचिव राजेश्वर ज्ञवालीले नेपालमा १६ जिल्लामा २७ हजार रोपनी जग्गा नेपाल ट्रष्टको नाममा रहेको बताउदै उपत्यका भित्रको ठूलो सम्पत्ति सल्लाघारीको जग्गालाई ट्रष्ट आफैले व्यबस्थापन गर्ने बताउनुभयो ।भक्तपुर नगरपालिका वडा नम्बर १ मा कित्ता नं. ५४० को १०८ रोपनी २ आना एक पैसा क्षेत्रफलमा फैलिएको जमिनमा नगरपालिकाले केही समय अगाडी पर्खाल लगाएको थियो ।

तत्कालिन स्वर्गीय राजा विरेन्द्र शाह र उनको परिवारको नाममा रहेको चल अचल सम्पत्ति २०६४ सालपछि नेपाल ट्रष्टको गठन गरि सोही संस्थाको मातहतमा रहने गरि संसदले नियमावली पारित गरेको थियो ।
कार्यक्रममा नेपाल ट्रष्टका सचिव गजेन्द्र कुमार ठाकुरले हाल देशभर २७ हजार रोपनी भन्दा धेरै जमिन र करिब ७८ करोड रुपैयाँ नगद कोष सम्पत्ति रहेको र उक्त सम्पत्तिबाट आएको व्याज वा भाडाको रकम शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गर्न सकिने व्यवस्था रहेको समेत ठाकुरले जानकारी दिनुभयो ।

ट्रष्टको जग्गामा नगरपालिकाले भाडा उठाएर लिनु कानुन विपरित भएको भन्दै ठाकुर दशैं पछाडी तत्कालै सुरक्षाकर्मी राखेर २४ घण्टा उक्त क्षेत्रको सुरक्षा गरिने बताउनुभयो । सो अवसरमा ३ नम्बर प्रदेश सांसद शसिजंग थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, स्थानीय बासिदा लगायतले हस्तक्षेप गरेर भन्दा पनि कानुन अनुसार ट्रष्टको सम्पत्तिको सुरक्षा गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल ट्रष्टको जग्गालाई नगरपालिकाले भाडामा लगाउनु उचित नहुने उहाँहरुको भनाई थियो ।मन्त्री पोखरेल सहितको टोलीले नगरपालिकाले पर्खाल लगाएरको ट्रष्टको जग्गाको अवलोकन समेत गरेको थियो ।