महिला बाख्रापालनबाट आत्मनिर्भरताकाे गतिलो उदाहरण बन्दै


नयुज अफ नेपाल, गलकोट । गाउँघरतिरको हिजोआज निराशाजनक र उदेक लाग्दो खबर बढी सुनिन्छ । गाउँ रित्तिएको छ । गाउँमा सम्भावना छैन । गाउँमा केही गर्ने वातावरण छैन । धेरैजान यस्तै भन्छन् तर, यथास्थिति यस्तै मात्र पनि होइन । विभिन्न पेशा, व्यवसाय र उद्यम गरेर आत्मनिर्भरताको गतिलो उदाहरण दिएका थुप्रै गाउँलेलाई पनि भेट्टाउन सकिन्छ ।

जिल्लाको काठेखोला गाउँपालिका वडा नं ४ तंग्रामका दुई सहकारीमा आवद्ध महिलाहरु यसैको एउटा उदाहरण हो । उनीहरुले बाख्रा बेचेर वार्षिक करीब डेढ करोड रुपैयाँ गाउँ भित्र्याइरहेका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला विकास सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला विकास सहकारी संस्थामा आवद्ध महिला शेयर सदस्यहरुले बाख्रा बिक्री गरेर आयआर्जन गरेका हुन् ।

आर्थिक वर्ष २०७५/७६ मा सप्तरङ्गी सहकारीमार्फत ७१४ वटा खसी बिक्री गरी ७९ लाख ५२ हजार १७५ रुपैंयाँ आम्दानी गरिएको संस्थाका प्रवन्धक मनकुमारी पुनले जानकारी दिनुभयो ।

वसन्त सहकारीका प्रवन्धक हेमा विकले दिनुभएको जानकारी अनुसार संस्थामार्फत ५३९ वटा खसी बोका बिक्री गरी ६१ लाख १२ हजार २०० रुपैयाँ आम्दानी भएको छ । दुईवटा सहकारी मार्फत तंग्रामका बाख्रापालक किसानहरुले वार्षिक १ करोड ५० लाख रुपैयाँ घर भित्र्याएका हुन् ।

सप्तरङ्गी सहकारीले गत आर्थिक वर्षमा १९ हजार ६३५ केजी बराबरको खसी बोका बिक्री गरेर ९८ हजार १५० रुपैयाँ नाफा गरेको थियो । त्यस्तै, वसन्त सहकारीले १५ हजार ९२ केजी खसी बोका बिक्री गरेर ७५ हजार ४६० रुपैयाँ नाफा कमायो ।

दुवै सहकारीले आफ्ना सदस्यहरुको खसी बोका प्रतिकेजी ४०० रुपैयाँमा सङ्कलन गर्ने र ४०५ रुपैयाँमा बिक्री गर्ने गरेका छन् । “प्रतिकेजी जम्मा ५ रुपैयाँ बढी लिएर सदस्यहरुका उत्पादन सङ्कलन गरी बजारमा लगेर बिक्री गर्ने व्यवस्था मिलाएका छौं,” प्रवन्धक पुनले भन्नुभयो – “महिला किसानको उत्पादनको बजारीकरण सहकारीमार्फत गर्दैआएका छौं । पुनका अनुसार उत्पादित खसी बोका बागलुङ बजारमा खपत हुने गरेका छन् ।

हेफर इन्टरनेशनलमार्फत विवाइसी बागलुङले साविक तंग्राम गाविसमा विगत ७ वर्षदेखि साना किसान सबलीकरण परियोजना सञ्चालन गर्दैआएको छ । उक्त परियोजनाबाट सप्तरङ्गी सहकारीमार्फत २४३ जना र वसन्त सहकारीमार्फत ६११ जना सदस्यलाई आयआर्जनका काममा केन्द्रित गरिएको विवाइसीका सहकारी क्षमता विकास सहजकर्ता रीता शर्माले जानकारी दिनुभयो । महिलालाई सदस्य बनाई आयआर्जनमा केन्द्रित गरेको र उनीहरुलाई परिवारका पुरुष सदस्यहरुले सहयोग गरेका कारण विगत ४ वर्षदेखि वार्षिक १ करोड भन्दा बढी रकम आम्दानी हुन थालेको छ । सहकारीका शेयर सदस्यहरुलाई बाख्रापालनमा केन्द्रित गर्ने र सहकारी संस्थाले खरिद गरेर बजारमा बिक्री वितरण गर्ने व्यवस्था गरिदिएपछि बाख्रापालन गर्नेको सङ्ख्या वार्षिक रुपमा वृद्धि हुँदै गएको छ । उपयुक्त चरन क्षेत्र भएको तंग्राम पछिल्लो समय बाख्रापालनको केन्द्र बन्दै गइरहेको छ ।

“प्रत्येक परिवारमा दुई–चार वटा बाख्रा अनिवार्य पाल्ने गरिएको छ, व्यावसायिक रुपमा बाख्रा पाल्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ,” स्थानीय यामबहादुर पुनले भन्नुभयो – “तंग्राममा बाख्रा नभएको घर पाउनै मुश्किल छ ।” चिसो हावापानीको चरन क्षेत्रमा हुर्केका खसी बोकाको मासु निकै स्वादिष्ट भएको भन्दै गाउँमै खसी बोका खरिद गर्न व्यापारीहरु तंग्राम पुग्ने गरेका छन् ।

घरका महिलाहरु सहकारीका सदस्य बनेका छन् । उनीहरुलाई पुरुषहरुले सहयोग र समन्वय गरेका कारण वर्षमा एक हजार वटा भन्दा बढी खसी बोका तंग्रामका दुईवटा सहकारीमार्फत बजारमा बिक्री हुने गरेका छन् । सहकारीमार्फत सदस्यको उत्पादन बिक्री गरेर उनीहरुको आय वृद्धि गराउन पाउँदा आनन्दको अनुभूति हुने गरेको सप्तरङ्गी सहकारीका अध्यक्ष थमकुमारी श्रीसले बताउनुभयो । “कुनै समय घर खर्च चलाउन समस्या हुने महिलालाई अहिले सजिलो भएको छ,” श्रीसले भन्नुभयो – “विस्तारै विस्तारै यहाँका महिलाहरु आर्थिक रुपमा सबल हुँदै गएका छन् ।”

दशैंका लागि बोका तयार  

दशैं र तिहार नजिकिँदै छ । यी पर्वका लागि हिमाली मुस्ताङबाट हजारौं खसी बोका ल्याइने गरिन्छ । तर, यसरी आयात गरिने च्याङ्ग्रा, खसी रोक्न यस वर्ष तंग्रामका महिलाले ७०० भन्दा बढी खसी बोका गाउँमै तयार गरेको अध्यक्ष श्रीसले जानकारी दिनुभयो । यस पटक सप्तरङ्गी सहकारीले ३१५ र वसन्त सहकारीले ४०५ वटा खसी बोका बिक्री गर्ने लक्ष्य राखेका छन् ।
रासस