नयाँ नोट सटहीमा दिक्कता हट्यो, १५ मिनेटमै साटिन्छ नयाँ नोट


न्युज अफ नेपाल, काठमाडौं ।

दशैंका लागि नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण आजबाट शुरु गरेको छ । काठमाडौंसँगै देशका विभिन्न स्थानमा नयाँ नोट सटही सेवा उपलब्ध गरिएका छन् ।

राष्ट्र बैंकका अनुसार नयाँ नोट सटही सुविधा असोज १० देखि १७ गतेसम्म उपलब्ध हुनेछ । शुक्रबार दिउँसो काउन्टर बन्द गर्ने बेलासम्म ८ सय ५७ जनाले मात्रै नयाँ नोट सटही गरेको राष्ट्र बैंकले जनाएको छ ।

उपत्यकाभित्र विभिन्न बैंकमार्फत ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । उपत्यका बाहिर भने राष्ट्र बैंकका कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराईने बताइएको छ ।

राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो । यसपटक मुद्रा व्यवस्थापन विभाग नै बालुवाटारमा सरेकाले यहीँबाट सटही सुरु भएको छ ।

यस्तै सटहीमा विगतका वर्षहरुमा जस्तो सर्वसाधारण विहान उज्यालो हुन नपाउँदै नोट सटहीका लागि लाइन लाग्न पुग्ने अवस्था भने यसपटक देखिएको छैन । यसपटक नोट साट्न आउने सर्वसाधारण त्यती धेरे छैनन् । नयाँ नोट साट्न बालुवाटार पुगेका यक व्यक्तीले भने, ‘पहिला ६ घण्टासम्म लाइन लाग्नुपर्ने स्थिति थियो । तर यसपटक भने खासै चाप छैन । ढिला पुगेकाहरु पनि बढीमा १५ मिनेटमै नयाँ नोट बोकेर फर्किएका छन् ।’ उनले यस वर्ष सहजै नयाँ नोट पाइएको भन्दै खुशी व्यक्त गरे ।

यस्तै नयाँ नोट सटही गर्न अशक्त, ज्येष्ठ नागरिकदेखि दृष्टिविहीन अपांगहरु समेत आएका थिए । राष्ट्र बैंकले अशक्तहरुका लागि लाइन बस्न नपर्ने व्यवस्था गराएको छ ।

कहाँ–कहाँ सटही ?

राष्ट्र बैंकले यस वर्ष नयाँ नोट सटही निकै सहज बनाइएको बताएको छ । उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्छन् ।

राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट पनि कार्यालयले आजैदेखि सेवाग्राहीलाई नयाँ नोट बाँड्न थालेका छन् ।

राष्ट्र बैंकका अनुसार, कृषि विकास बैंकले उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट वितरण गरिरहेको छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
राष्ट्र बैंकले यसका अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराएको छ ।

यसका साथै राष्ट्र बैंकले काठमाडौं उपत्यकासँगै अन्य जिल्लामा पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । यद्यपि, उपत्यकाको तुलनामा बाहिर निकै कम स्थानबाट रकम सटही गर्न सकिन्छ ।

राष्ट्र बैंकका अनुसार, उसका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुन्छ ।

राष्ट्र बैंकले यस वर्ष नोट सटहीको सीमा घटाएको छ । अघिल्लो वर्ष प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गरेको राष्ट्र बैंकले यस वर्ष १८ हजार ५ सय रुपैयाँका दरले मात्रै साटिने बताएको छ । नयाँ नोट वितरण गर्ने योजना क्रमिक रुपमा घटाउदै जाने राष्ट्र बैंकको योजना छ । दशैंमा नयाँ नोट वितरण गर्दा नोटको सुरक्षा नहुने भएका कारण राष्ट्र बैंकले यस्तो योजना बनाएको हो ।

राष्ट्र बैंकले विशेष गरेर विद्यार्थीहरुले यस विषयमा ध्यान दिनु पर्ने जनाएको छ । कसैले जानीजानी नोटमा नोक्सानी पुर्याएको देखे नजिकैको प्रहरीलाई खबर गरिदिन समेत आग्रह गरिएको छ ।