साफ यू १८ : भुटानलाई हराउँदै बंगलादेश फाइनलमा


न्युज अफ नेपाल, काठमाडौं ।

दक्षिण एसियाली खेलकुद साफ यू १८ अन्तर्गत आजको पहिलो खेलमा भुटानलाई पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ। हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको भुटानलाई बंगलादेशले ४–० ले पराजित गरेको हो।

बंगलादेशले खेलको १६ औं मिनेटमै गोल मोहम्मद तानवीर हुसैनको गोलमा अग्रता लिएको थियो। त्यस्तै, २७ औं मिनेटमा मोहम्मद फोयसल अहमेद फहिमको गोल सँगै बंगलादेशले अग्रता दोब्बर गरेको थियो। त्यसको पाँच मिनेट भित्रै बंगलादेशले अर्को गोल थप्यो। मोहम्मद मराज हुसैनले ३२ औं मिनेटमा गोल गर्दा हाफ टाइम अघि नै बंगलादेशले ३–० गोलान्तर बनाएको थियो। खेलको अन्तिम समयमा फेरि दिपाेक रोयले गाेल गर्दा बंगलादेशले भुटानमाथि ४–० गोल अन्तरले जित निकाल्दै फाइनल प्रवेश गरेको छ।

आजै हुने दोस्रो खेलमा भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन्। खेल ३ बजेबाट सुरु हुनेछ।

समूह ‘ए’ बाट भुटान ४ अंक जोड्दै सेमिफाइनल प्रवेश गरेको थियो। उसले नेपाललाई ३–० गोलअन्तरले पराजित गरेको थियो भने माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो। माल्दिभ्सले समूह चरणका दुवै खेल बराबरी खेलेको थियो। प्रतियोगिताको पहिलो खेलमा नेपाल र माल्दिभ्सले १–१ को बराबरी खेलेका थिए।

त्यस्तै समूह ‘बी’ बाट भारत समूह विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे। भारत र बंगलादेशले समान ४ अंक र गोलान्तर पनि बराबरी भएपछि गोलाप्रथाबाट भारत समूह विजेता बनेको थियो। भारत र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए भने दुवै टिमले श्रीलंकालाई ३–० गोलान्तरले पराजित गरेका थिए।

प्रतियोगितामा आयोजक तथा डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपाल समूह चरणबाटै बाहिरिएकाे थियाे। माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको नेपाल भुटानसँग ३–० ले पराजित भयो। ह्याट्रिकको लक्ष्य लिएको नेपाल घरेलु मैदानमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियाे।