धरान र भारत फाइनलमा


नेपाल समाचारपत्र, बेलबारी। मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सुनसरीको धरान फुटबल क्लब र भारतको रोयल फुटबल क्लब भिड्ने भएका छन्।

बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै भारतले फाइनल यात्रा तय गरेको हो।

नेपाली खेलाडीले भरिएको भारतीय टिमको जितमा निशान्त लिम्बूले दुई र सञ्जय सुब्बाले एक गोल गरे। प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ।

कैलाश बस्नतेको पासमा निशान्तले ५१औं मिनेटमा गोलको खाता खोलेका थिए। उनको प्रहार भएको ग्रास बलले पोस्टको बाटो तय गर्दा गोलरक्षक राजु नगरकोटीले कुनै मौका पाएनन्।

६२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै निशान्तले अग्रता दोब्बर बनाएपछि एपीएफ थप तनावमा पर्यो। डी–बक्सभन्दा बाहिरबाट उनले गरेको सशक्त प्रहारले पोस्टको दिशा लिएको हो।

एपीएफमाथि रवाफ देखाएको भारतका लागि ७६औं मिनेटमा तेस्रो गोल सम्भव भयो। सुरज रसाइलीको पासमा सञ्जय सुब्बाले बललाई जाली चुमाउँदै एपीएफमाथि फराकिलो अन्तरको जित दिलाए।

खेलको म्यान अफ दि म्याच भारतका निशान्त लिम्बुले पाँच हजार नगद पुरस्कार पाए। एपीएफका लागि १७औं मिनेटमा सन्तोष श्रेष्ठको पासमा महेश लामा चुक्दा गोल गर्ने अवसर खेर गयो।

५५औं मिनेटमा रुद्रबहादुर लामाको उत्कृष्ट फ्रिकिक प्रहारलाई भारतका गोलरक्षक किशोर गिरीले रोकेका थिए।६५औं मिनेटमा सन्तोष अघि बढे पनि रेफ्री श्याम दनुवारले अफसाइडको संकेत गरेपछि एपीएफका लागि वानभर्सेस वानको अवसर गुम्यो।

७७औं मिनेटमा युवराज खड्काको सशक्त प्रहार रोक्दै गोलरक्षक गिरीले आफ्नो टिमविरुद्ध गोल हुन नदिँदा एपीएफले सान्त्वना गोल पनि फर्काउन सकेन।