नवीनले शीर्ष वरीयताका अष्ट्रेलियनलाई हराए


नेपाल समाचारपत्र, काठमाडौं।सानदार प्रदर्शन गर्दै नेपालका नवीन श्रेष्ठ काठमाडौंमा जारी अन्नपूर्ण नेपाल अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

बिहीबार दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा नवीनले पुरुष एकलतर्फ प्रतियोगिताकै शीर्ष वरीयता प्राप्त अष्ट्रेलियाका डेनियल फानलाई २१–१५, १८–२१, २१–१६ ले पन्छाउन सफल भएका हुन्। २३ वर्षीय नवीन नेपालका सातौं वरीयता प्राप्त खेलाडी हुन्।

त्रिभुवन आर्मीसँग आबद्ध नवीनले जितपछि बताए– ‘पहिलो सेट राम्रो भएको थियो। दोस्रो सेट बिगारें। सटल फास्ट भएकाले नेटमा बढी लाग्यो। तेस्रो सेटमा सुधार भयो। डानियलले कमजोर सर्भिस गर्दा मैले फाइदा उठाएँ।’

नवीनको अर्को चरणमा भेट युवा खेलाडी प्रिन्स दाहालसँग हुनेछ। दुबई अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका प्रिन्सले मलेसियाका डाटु मोहम्मद शाह एजलान सार्दिकलाई तीन सेटमा हराएका थिए। उनले सो खेलमा पहिलो सेट १५–२१ ले गुमाएका थिए।

यसपछिका सेट भने उनले २१–१७, २१–१३ ले जित्दै अर्को चरणको यात्रा तय गरे। यस्तै नेपालकै दीपेश धामीले नेपालकै विकास श्रेष्ठलाई २१–१५, २१–१३ को सीधा सेटमा हराएर अन्तिम चारमा पुगे।

यसैगरी पुरुष एकलतर्फ नेपालका रत्नजित तामाङले पनि अन्तिम आठको स्थान सुरक्षित गरे। रत्नजितले आफ्नै राष्ट्रका विष्णु कटवाललाई सहजै २१–७, २१–१२ ले पन्छाएका थिए।

नेपालका अन्य खेलाडीमा अरिन्टाप दास गुप्ता मलेसियाका खेलाडीसँग हार्दै बाहिरिए। त्यस्तै देवराज राणा पनि भारतका कार्तिके गुलशन कुमारसँग सीधा सेटमा हारेका थिए।

यस्तै महिला एकलतर्फ नेपालका सीता राई र सीमा राजवंशीले अन्तिम आठको यात्रा गर्दा नङसल तामाङ हारेर बाहिरिएकी थिइन्।

सीताले नेपालकी लोक्तमा राईलाई २१–१६, २१–१७ ले हराउँदा सीमाले नेपालकी सुनयना मुखियालाई २१–१७, २१–१७ ले पराजित गरेकी थिइन्। नङसललाई भने भारतकी सामिया इमाद फारोकी प्रतिद्वन्द्वी परेको थियो। जुन खेलमा उनी २१–५, २१–१३ ले नतिजा सुम्पन बाध्य भइन्।