प्रहरी कार्यालय विराटनगरलाई उपाधि


नेपाल समाचारपत्र, काठमाडौं।६४औं प्रहरी दिवसको अवसरमा आयोजित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जितेको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सञ्चालित प्रतियोगिताको फाइनलमा प्रहरी कार्यालय विराटनगरले ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडालाई हराएको हो।

बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विजेतालाई उपाधि र नगद पुरस्कार प्रदान गर्नुभयो।

विजेता टोलीले ५० हजार ५ सय ५५ तथा उपविजेता टोलीले ३५ हजार ५ सय ५५ रुपियाँ प्राप्त गरेका हुन्।असोज ५ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो।

प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले १० हजार ५ सय ५५ रुपियाँ हासिल गर्दा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समान ७ हजार ५ सय ५५ रुपियाँ हात पारेका थिए।