पाटन र भूमेश्वर अन्तिम चारमा


बैतडी, (नेस)।पाटन भ्याली र भुमेश्वर, बैतडीको पाटन नगरपालिकामा जारी प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेका छन्।

बिहीबार श्रीकृष्ण माविमा भएको खेलमा पाटन नगरपालिका–४ भूमेश्वरलाई ८ विकेटले पाखा लगाउँदै वडा नं ६ पाटन भ्याली समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा पुगेको हो।

भूमेश्वरले दिएको ७८ रनको झिनो लक्ष्य पाटन भ्यालीले वीरेन्द्र विष्टको ४२ रनको मद्दतमा २ विकेटको क्षतिमा पूरा गर्यो।

यसअघि पहिला ब्याटिङ गरेको भूमेश्वरले १५ ओभरमा ७७ रन बनाएको थियो। पाटन भ्यालीका लागि व्यक्तिगत ४२ रन तथा १ विकेट लिएका वीरेन्द्र विष्ट म्यान अफ द म्याच घोषित भए।

तर भूमेश्वर पराजित भए पनि यसअघि खेलमा जित हासिल गरेकोे उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो।
पाटन नगरपालिकाको आयोजनामा सञ्चालनमा रहेको प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार र द्वितीय पुरस्कार २० हजार रहेको छ।