बीओके प्रकरणमा धितो मूल्यांकनकर्ता पक्राउ


काठमाडौं, (नेस)। बैंक अफ काठमाण्डू (बीओके) को ऋण दुरूपयोग अभियोगमा धितो मूल्यांकनकर्ता भेषराज खत्री पक्राउ परेका छन्। बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले उच्च अदालत ललितपुरमा बुझाएको छ। ऋणी स्वर्णिम एन्ड श्रीजन कम्पनी प्रालिका सञ्चालक सुरेन्द्र श्रेष्ठले बैंकबाट ऋण लिएका थिए।

उनले झापाको ४ कठ्ठा १० धुर जग्गा झक्याइ झुठ्ठा विवरण लिखत र नापी, नक्सा मिलाइ बैंकमा पेस गरेका थिए।

उनले एक ठाउँको जग्गा देखाएर अर्कै ठाउँको जग्गा धितोमा राखेका थिए। त्यो जग्गाको मूल्यांङ्कन एभरेष्ट इन्जिनियरिङ कन्सल्टेन्सी विराटनगरका खत्रीले गरेका थिए।

सो अभियोगमा बैंकका पूर्व र वहालवाला कर्मचारी पक्राउ परिसकेका छन्। उनीहरुलाई अदालतमा मुद्दा दायर गरिसकेको छ।

अहिले खत्री पनि पक्राउ परेका हुन्। मुद्दा मुछिएका १६ जनामध्ये ११ जनाको बयान सकिसकेको छ। शुक्रबार थुनछेक बयान हुनेछ।