कृषि विकास बैंकको चोरी प्रकरण: लहानबाट तीन कर्मचारी काठमाडौं झिकाइए


परिवर्तन देवकोटा, काठमाडौंकृषि विकास बैंकले रकम चोरीपछि अनुसन्धानका लागि लहान शाखाका तीन कर्मचारीलाई काठमाडौं झिकाएको छ।

लाहन शाखामा कार्यरत तीन कर्मचारीको आईडी र पासवर्ड प्रयोग गरी रकम भिकिएको पाइएकाले ती कर्मचारीलाई काठमाडौं झिकाइएको बैंकका सूचना अधिकारी हिमलाल पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँका अनुसार, लहान शाखामा कार्यरत राम सेवत यादव, डम्बरबहादुर केसी र सुनील शाहलाई काठमाडौं झिकाइएको हो। उनीहरूको आइडी प्रयोग गरेर ४ करोड ७३ हजार रुपियाँ लुटिएको अनुसन्धानमा खुल्न आएको छ।

सूचना अधिकारी पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘हामीले अनुसन्धानका लागि उहाँहरू तीनै जनालाई काठमाडौं झिकाएका छौं।’लहान कार्यालयमा अन्य कर्मचारीलाई व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो।

लहान कार्यालयका सबै कर्मचारीलाई तत्कालका लागि काम गर्न रोक लगाइएको उहाँले जानकारी दिनुभयो। अहिले सो कार्यालयमा राजविराज शाखाबाट कर्मचारी पठाइएको छ।

लहानबाट काठमाडौं झिकाइएका कर्मचारीहरू दोषी हुन् या होइनन् भन्ने अनुसन्धानपछि मात्रै पत्ता लाग्ने उहाँले बताउनुभयो। ‘हामी अनुसन्धानकै क्रममा छौं, अहिले नै दोषी भन्न मिल्दैन,’ उहाँले थप्नुभयो–‘ अनुसन्धानले उहाँलाई निर्दोष साबित गर्छ या दोषी, त्यो पछि नै थाहा हुन्छ।’

उहाँका अनुसार, बैंकको छानबिन टोली लहानबाट शुक्रबार फर्किदै छ। छानबिन टोली फर्किएपछि थप अनुसन्धान अघि बढाइने उहाँले उल्लेख गर्नुभयो।

रकम चोरीएपछि अहिले सो घटनालाई तीन कोणबाट अनुसन्धान भइरहेको छ। राष्ट्र बैंक, प्रहरी तथा बैंक स्वयम्ले पनि अनुसन्धान गरिरहेको छ। सूचना अधिकारी पौडेलले भन्नुभयो–‘ उहाँहरूले आफ्नै तरिकाले अनुसन्धान गर्दै हुनुहुन्छ, हामी आफ्नै तरिकाले, हाम्रो चाहना भनेको दोषीले सजाय पाओस् भन्नु हो।

हामी त्यसैका लागि टोली नै बनाएर छानबिन गरिरहेका छौं।’प्रहरीले बुधबारमात्रै रकम चोरीमा संलग्न १२ जनालाई पक्राउ गरिसकेको छ भने बिहीबार स्याङ्जाबाट अर्का एक जनालाई पक्राउ गरेको छ।

चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले स्याङजाका रामकृष्ण भुसाललाई पक्राउ गरेको हो। उनी निर्माण व्यवसायी रहेको र चोरी भएको रकममध्ये केही उनको खातामा पठाइएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।