अस्ट्रेलियामा गर्भपतनलाई वैधानिक मान्यता


सिडनी,(एजेन्सी)अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा पनि गर्भपतन गर्ने छुट प्रदान गरिएपछि बल्ल बिहीबार अस्ट्रेलियाभरि नै गर्भपतनले वैधानिक मान्यता प्राप्त गरेको छ। संसदमा यस विधेयकमाथि मतदान भएको थियो।
न्यु साउथ वेल्सको १ सय १९ वर्ष पुरानो कानुनलाई यस मतदानले उल्टाएको छ।

यस विधायकमाथि लामो समयदेखि चर्का बहस हुँदै आएको थियो। यस राज्यको कन्जरभेटिभ सरकारको यस विषयमा मत विभाजित भएको थियो। यसअघि पनि गर्भवती महिलाको स्वास्थ खतरामा रहेको भन्ने चिकित्सकको सिफारिस भएको खण्डमा गर्भपतन गराउन सकिने प्रावधान रहेको थियो।

एकसय वटाभन्दा बढी सम्भावित संशोधनबारे छलफल भइसकेपछि यस राज्यको तल्लो सदनमा भएको मतदानमा विधेयकको पक्षमा २६ र विपक्षमा १४ मत खसेको थियो। यस विधेयकलाई यसअघि नै संसद्को माथिल्लो सभाले अनुमोदन गरिसकेको छ।

यस नयाँ कानुनअनुसार २२ साताको गर्भसम्म गर्भपतन गर्न सकिने भएको छ तर त्यो भन्दा परानो गर्भलाई तुहाउनका लागि भने दुईजना चिकित्सकको विशेष सिफारिस चाहिन्छ।

केही सामाजिक अभियन्ता र विधायकले भने निजी र पुरानो भइसकेको गर्भपतनलाई लिएर यस विधेयकको विरोध गरेका थिए तर अन्तिम समयमा केहि कन्जरभेटिभ विधायकहरुलाई पनि मनाएर र अन्य पार्टीहरूको सहयोगमा विधायक पारित गरिएको हो।

यस अघिसम्म यस राज्यमा गैरकानुनीरूपमा गर्भपतन गराउँदा महिला र डाक्टरलाई जनही दसवर्ष लामो कारावार सँजाय हुनसक्थ्यो।